Logo

Aug 19 2026 | २०८३, भाद्र ३गते

पुनः पक्राउको आशंकामा पत्रकार किशोर श्रेष्ठ उच्च अदालतमा

पुनः पक्राउको आशंकामा पत्रकार किशोर श्रेष्ठ उच्च अदालतमा

काठमाडौं : जनआस्थाका सम्पादक किशोर श्रेष्ठले आफूलाई पुनः प्रहरीले पक्राउ गर्न खोजेको भन्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन् । उच्च अदालत पाटनका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाका अनुसार पक्राउ गर्न रोक्न माग गर्दै श्रेष्ठले अदालतमा रिट पेस गरेका हुन् । यसअघि गत बुधबार उनी वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका थिए ।

त्यसपछि उनकी श्रीमती सरस्वती श्रेष्ठले रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार मात्रै रिहा गर्न परमादेश जारी गरेको थियो ।

उपसभामुख रुवीकुमारी ठाकुरले पनि जनआस्था डटकमको सामाजिक सञ्जाल पेजबाट आफ्नो तस्बिरसहित आपत्तिजनक र धम्क्याउने किसिमको सामग्री प्रकाशित भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी थिइन् । उनको उजुरीमा सामग्रीमा उल्लिखित आरोप र दाबीको स्रोत तथा प्रमाण झिकाई निष्पक्ष छानबिन गर्न माग गरिएको थियो ।

सोही जाहेरीका आधारमा आफूलाई पक्राउ गर्न सक्ने आशंका जनाउँदै श्रेष्ठले अदालतमा निषेधाज्ञाको निवेदन दिएका हुन् । उनले आफूमाथि धरपकड नगर्नरनगराउन तथा आफ्ना उपकरण बरामद नगर्नरनगराउन आदेश जारी गर्न माग गरेका छन् । यद्यपी प्रहरीले दुई दिनदेखि जिल्ला अदालत ललितपुरमा पक्राउ पुर्जीका लागि अनुमति मागिरहेको छ । पर्याप्त प्रमाण कागज नभएको भन्दै अदालतले दुई दिनदेखि पक्राउ पुर्जी दिन अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट