Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सभामुखको आदेशमा टाउको हल्लाएर बस्नु मेरो लागि स्वीकार्य छैन : आशिका तामाङ

सभामुखको आदेशमा टाउको हल्लाएर बस्नु मेरो लागि स्वीकार्य छैन : आशिका तामाङ

काठमाडौं : सांसद आशिका तामाङले सभामुखले आफूलाई ‘मर्यादा’मा बस्न दिएको निर्देशनप्रति असन्तुष्टि जनाउँदै जनताका मुद्दामा संसद्मा प्रश्न उठाउनु आफ्नो जिम्मेवारी भएको बताएकी छन् । सामाजिक सञ्जालमार्फत उनले सभामुखले भनेको भन्दैमा आफूले हरेक विषयमा ‘हस्’ भनेर टाउको हल्लाएर बस्न नसक्ने स्पष्ट पारेकी छन् । जनताको समस्यामा सरकारसँग जवाफ माग्नु र ढिलासुस्तीबारे सदनमा प्रश्न उठाउनु संसदीय मर्यादाविपरीत नभएको उनको भनाइ छ।

तामाङले ३७ दिनसम्म आफूले धैर्यता र सहनशीलता अपनाएको उल्लेख गर्दै त्यसलाई पनि संसदीय मर्यादाकै रूपमा बुझिनुपर्ने तर्क गरेकी छन्। उनले भनिन्, “सभामुखज्यू भन्नुहुन्छ, ‘मर्यादामा बस्नुस्।’ ३७ दिनसम्म मैले राखेको धैर्यता र सहनशीलता चाहिँ मर्यादाभित्र पर्दैन र ?”

पीडित परिवारलाई साथ लिएर आफूले विभिन्न सरकारी निकायमा पटक–पटक धाउनुपरेको उल्लेख गर्दै तामाङले समस्या समाधानका लागि आफूले निरन्तर पहल गरेको बताइन्। उनका अनुसार ३७ दिनको अवधिमा पीडितकी श्रीमती र बुवालाई लिएर कहिले मन्त्रालय, कहिले प्रधानमन्त्रीको सचिवालय त कहिले सम्बन्धित काउन्सिलरकहाँ पुगेर पहल गर्नुपरेको थियो।

तामाङले आफू सभामुखको आलोचक मात्र नभएको दाबी गर्दै सभामुखप्रति आवश्यक सम्मान राख्दै आएको बताइन्। उनका अनुसार यसअघि प्रतिपक्षले बिना कारण सभामुखको आलोचना गर्दा सदनमा नियमापत्तिसमेत गर्नेमा आफू अग्रपंक्तिमा थिइन्। “हिजो प्रतिपक्षले बिना कारण सभामुखज्यूलाई आलोचना गर्दा सबैभन्दा अगाडि नियमापत्ति गर्ने पनि मै थिएँ। आज जनताको मुद्दामाथि काममा ढिलासुस्ती हुँदा सदनमा सभामुखज्यूमार्फत जवाफ मात्र खोजेको हुँ,” उनले भनिन्।

सरकार जनताप्रति जवाफदेही हुनुपर्नेमा जोड दिँदै तामाङले जनताका समस्यामा सरकारसँग जवाफ माग्नु सांसदको जिम्मेवारी भएको बताइन्। “सरकार भनेको जनताको हरेक मुद्दामा जवाफदेही हुनुपर्छ,” तामाङले भनिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट