काठमाडौं : दक्षिणकाली एण्ड डोल्लु रिसोर्ट प्रालिमा ३० वर्षीय युवक राजु तामाङको मृत्यु भएको २५ दिन बितिसक्दा पनि शव उठ्न सकेको छैन। घटनाको सत्यतथ्य छानबिन गरी न्याय दिनुपर्ने माग गर्दै परिवारले शव बुझ्न अस्वीकार गरेको हो।
रामेछाप घर भई तारकेश्वर नगरपालिका–५ गोलढुंगा बस्दै आएका तामाङ साउन ५ गते १३ जना साथीसहित फर्पिङस्थित डोल्लु रिसोर्टमा पुगेका थिए। परिवारका अनुसार रिसोर्टमा पुगेका समूहमा ६ जना युवती र ७ जना युवक थिए।
रिसोर्टको स्वीमिङ पुलमा डुबेर राजुको मृत्यु भएको भनिए पनि घटनाको प्रकृतिमाथि परिवारले प्रश्न उठाएको छ। डुबेको जानकारी तत्काल परिवारलाई नदिइएको, अस्पताल ल्याएको भनिए पनि आफूहरू पुग्दा शव देखाइएको लगायतका विषयले घटना शंकास्पद देखिएको परिवारको दाबी छ।
परिवारले रिसोर्टमा सीसीटीभी कभरेज नभएको, घटनास्थल आसपासको झार माडिएको, चप्पलहरू यत्रतत्र रहेको तथा भुइँमा रगतका टाटा देखिएको दाबी गर्दै यी विषयमा समेत अनुसन्धान हुनुपर्ने माग गरेको छ। प्रहरी वृत्त कीर्तिपुरमा किटानी जाहेरी दिन खोज्दा नलिएको परिवारको गुनासो छ।
परिवारले प्रहरी, सरकारी वकिलको कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र गृह मन्त्रालयसम्म पुगेर न्यायका लागि पहल गरे पनि आफूहरूले न्याय पाउने अवस्था नदेखिएको बताएको छ।
यता, जिल्ला प्रहरी परिसर काठमाडौंले भने घटनालाई सूक्ष्म रूपमा अनुसन्धान गरिएको जनाएको छ। घटना भएको जानकारी प्राप्त हुनासाथ कीर्तिपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको र विभिन्न पक्षबाट हेर्दा घटना शंकास्पद नदेखिएको प्रहरीको दाबी छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार पोस्टमार्टम रिपोर्टमा समेत राजुको मृत्युको कारण डुबेर भएको उल्लेख छ। प्रहरीले गर्नुपर्ने सबै अनुसन्धान तथा प्रक्रिया पूरा गरिरहेको उनको भनाइ छ।
तर प्रहरीको निष्कर्षप्रति परिवार सहमत छैन। घटनाको थप सत्यतथ्य छानबिन गरी न्याय नपाएसम्म शव नबुझ्ने परिवारले अडान दोहोर्याएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij