काठमाडौँ : नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ।
झण्डै ६ महिनापछि बिहीबार स्वदेश फर्किन लागेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी गरिएको हो। स्वागतका क्रममा बाजागाजासहित सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने कांग्रेस संस्थापन इतर समूहले जनाएको छ।
इतर समूहले साउन २९ गते आयोजना गर्न लागेको राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समितिले देउवाको स्वागतको तयारी गरिरहेको हो। समितिकी संयोजक विद्या तिमिल्सिनाले देउवाको स्वागतका लागि बाजागाजासहित सांस्कृतिक झाँकी निकालिने जानकारी दिइन्।
पूर्वप्रधानमन्त्री देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए। त्यसपछि चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका उनी केही समयदेखि हङकङमै रहँदै आएका थिए।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा बिहीबार दिउँसो करिब साढे १२ बजे काठमाडौं आइपुग्नेछन्। उनी थाई एयरको उडानमार्फत स्वदेश फर्किन लागेका हुन्।
देउवाको स्वदेश फिर्तीसँगै कांग्रेसभित्रको पछिल्लो राजनीतिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ। संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई समेत कांग्रेसभित्रको आगामी राजनीतिक रणनीति र संगठनात्मक गतिविधिका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij