काठमाडौँ : नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको छ। एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयमा बुधबार १८ जना प्रदेश सांसदको हस्ताक्षरसहित प्रस्ताव दर्ता गरिएको हो।
प्रदेश सांसद किरण थापाका अनुसार पार्टीको निर्देशनअनुसार संसदीय दलको नेता परिवर्तन गर्ने प्रक्रिया अघि बढाइएको हो। उनले १८ सांसदको हस्ताक्षरसहित थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको जानकारी दिए।
अविश्वास प्रस्ताव पूर्वमन्त्री कृष्णप्रसाद सिलवाल, ज्ञानबहादुर तामाङ र हरि सापकोटाले संसदीय दलको कार्यालयमा दर्ता गराएका हुन्। केही समयअघि भक्तपुरको गुण्डुमा संकलन गरिएको हस्ताक्षर प्रतिनिधिमार्फत दलको सचिवालयमा बुझाइएको बताइएको छ।
एमाले संसदीय दलको विधानअनुसार अविश्वास प्रस्ताव दर्ता भएपछि सात दिनभित्र संसदीय दलको बैठक बोलाएर प्रस्तावमाथि छलफल गर्नुपर्ने व्यवस्था छ। त्यसअनुसार अब संसदीय दलको बैठकमार्फत थपलियाविरुद्धको प्रस्तावमाथि छलफल हुने भएको छ।
बागमती प्रदेशमा एमाले संसदीय दलको नेतृत्वलाई लिएर केही समययता विवाद हुँदै आएको थियो। नेतृत्व परिवर्तनको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा समेत पटक–पटक छलफल भएको बताइएको छ।
अविश्वास प्रस्ताव दर्ता भएसँगै एमाले बागमती प्रदेश संसदीय दलमा नेतृत्व परिवर्तनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij