काठमाडौं : राष्ट्रिय सभाका सदस्यहरूले देशभर ग्यास अभावको समस्या देखिएको भन्दै यसबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकको शून्य समयमा बोल्दै सांसद कमला पन्तले नागरिकले ग्यास नपाएको गुनासो गरिरहेको र विभिन्न स्थानमा लामो लाइन देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सरकारले ग्यासको अभाव नरहेको दाबी गरे पनि नागरिकले सहज रूपमा ग्यास पाउन नसकेको भन्दै उनले यस विषयमा सरकारको जवाफ आउनुपर्ने बताइन् ।
सांसद पन्तले ग्यासको समस्या नरहेको बताउने सरकारलाई नागरिकले ग्यास नपाउने अवस्थाबारे रुलिङ गर्नसमेत माग गरिन् ।
यस्तै, अर्का सांसद तुलप्रसाद विश्वकर्माले ग्यास अभावका कारण नागरिकले ठूलो कष्ट भोग्नुपरेको बताए । देशभर ग्यासको समस्या देखिए पनि सरकारले त्यसप्रति पर्याप्त चासो नदिएको उनको भनाइ थियो ।
‘ग्यास समस्या देशभर भएको छ । यसमा सरकारले चासो दिएर समस्या समाधान गरोस्,’ विश्वकर्माले भने ।
सांसद नरबहादुर विष्टले पनि सरकारले नागरिकलाई कहिलेसम्म सहज रूपमा ग्यास उपलब्ध गराउने हो भन्दै प्रश्न गरे ।
बैठकमा सांसद नारायणदत्त मिश्रले भने सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरे । उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij