चितवन : चितवनको भरतपुर महानगरपालिका–२८, मेघौलीमा बाघको आक्रमणबाट ६५ वर्षीय मङ्गले बोटेको मृत्यु भएको छ। बिहान मर्निङ वाकका लागि घरबाट निस्किएका बोटेलाई करिब पौने ५ बजे होटल साङ्ग्रीला नजिकैबाट बाघले आक्रमण गरी जंगलतर्फ लगेको बताइएको छ।
घटनालगत्तै स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले खोजी थालेको थियो। खोजीका क्रममा बोटेको मृत्यु भइसकेको पुष्टि भए पनि उनको शरीरको एउटा खुट्टाबाहेक अन्य भाग फेला पर्न नसकेको जनाइएको छ। बोटेलाई आक्रमण गर्ने बाघ घटनास्थलनजिकैको झाडीमा रहेको बताइएको छ। सुरक्षा टोलीले बाघलाई नियन्त्रणमा लिन घटनास्थलमा घेराबन्दी गरी प्रयास गरिरहेको छ।
घटनापछि मेघौली क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले सर्वसाधारणलाई विशेषगरी बिहान र बेलुका एक्लै बाहिर ननिस्कन तथा सतर्कता अपनाउन आग्रह गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij