Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

इच्छाकामना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

इच्छाकामना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

इच्छाकामना  : चितवनको इच्छाकामना गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको अध्यक्षता तथा जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि अधिकारीले गाउँपालिका अध्यक्ष गुरुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणाको प्रमाणपत्र प्रदान गर्नुभयो। साथै गाउँपालिकाका सबै वडालाई पनि प्रमाणपत्र वितरण गरिएको थियो।

सो अवसरमा अधिकारीले इच्छाकामना गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्न सफल भएकोमा बधाई व्यक्त गर्दै यस उपलब्धिलाई दिगो रूपमा कायम राख्न निरन्तर प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उक्त उपलब्धि हासिल गर्न अहोरात्र खटिने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी, जनप्रतिनिधि तथा सहयोग गर्ने खोप समन्वय समिति चितवनप्रति आभार व्यक्त गर्नुभयो। साथै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर (किटजन्य रोग) कन्ट्रोल निरीक्षक राम केसीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणाको प्रक्रिया तथा मापदण्डबारे प्रस्ट पार्नुभएको थियो। उहाँले गाउँपालिकाका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीहरूको भूमिकाको प्रशंसा गर्नुभयो।

कार्यक्रममा वक्ताहरूले बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याउन गाउँपालिकाले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै खोप कार्यक्रमको दिगोपनाका लागि सबै सरोकारवालाबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, वडा नं. ५ का वडाध्यक्ष तेजबहादुर शेरचनलगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रम गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक भक्तबहादुर गुरुङले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट