Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चिकित्सक लाइसेन्स परीक्षामा चितवन मेडिकल कलेज उत्कृष्ट, ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण

चिकित्सक लाइसेन्स परीक्षामा चितवन मेडिकल कलेज उत्कृष्ट, ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण

चितवन : नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको चिकित्सक लाइसेन्सिङ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट बनेको छ। काउन्सिलले जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजाअनुसार सिएमसीका ५८ परीक्षार्थीमध्ये ५४ जना उत्तीर्ण भएका छन्। यससँगै कलेजले ९३.१० प्रतिशत उत्तीर्ण दर हासिल गर्दै देशभरका मेडिकल कलेजमध्ये पहिलो स्थान प्राप्त गरेको हो। काउन्सिलले सार्वजनिक गरेको विवरणअनुसार दोस्रो स्थानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ, जहाँ ७७ जनामध्ये ७१ जना (९२.२१ प्रतिशत) उत्तीर्ण भएका छन्। तेस्रो स्थानमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान रहेको छ, जहाँ ८८ जनामध्ये ७९ जना (८९.७७ प्रतिशत) विद्यार्थी सफल भएका छन्।

चितवन मेडिकल कलेजका उपनिर्देशक अरुण कोइरालाले काउन्सिलको परीक्षा वर्षमा तीन पटक हुने गरेको र कलेजका विद्यार्थीले निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको बताए। उनका अनुसार नेपालका मेडिकल कलेजमा अध्ययन गरेका विद्यार्थीको नतिजा विदेशमा अध्ययन गरेका विद्यार्थीको तुलनामा राम्रो देखिएको छ। उनले सिएमसीका अधिकांश विद्यार्थीले पहिलो वा दोस्रो प्रयासमै लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने गरेको उल्लेख गर्दै उच्चस्तरीय अध्यापन र प्रभावकारी प्रयोगात्मक शिक्षाले सकारात्मक नतिजा ल्याउन मद्दत गरेको बताए।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त सिएमसीमा एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएससी मिडवाइफरी, पब्लिक हेल्थ, फार्मेसी, एमएलटी तथा रेडियोग्राफीलगायतका स्नातक तहका कार्यक्रम सञ्चालनमा छन्। स्नातकोत्तर तहमा एमडी/एमएस, एमएन, एमपीएच, एमएससी माइक्रोबायोलोजीलगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले अनुभवी प्राध्यापक, गुणस्तरीय शिक्षण पद्धति र अस्पतालमा पर्याप्त बिरामीको चापका कारण विद्यार्थीले राम्रो प्रयोगात्मक अनुभव प्राप्त गर्ने भएकाले उत्कृष्ट नतिजा सम्भव भएको बताए। नेपाल मेडिकल काउन्सिलका अनुसार यसपटकको लाइसेन्सिङ परीक्षामा कुल १ हजार २५४ जना सहभागी भएकोमा ९६३ जना उत्तीर्ण भएका छन्। समग्र उत्तीर्ण दर ७६.७९ प्रतिशत रहेको छ । विदेशी शैक्षिक संस्थाबाट अध्ययन गरेका परीक्षार्थीहरूको नतिजा भने तुलनात्मक रूपमा कमजोर देखिएको छ। बंगलादेशमा अध्ययन गरेका ३६७ जनामध्ये १५१ जना (४१.१४ प्रतिशत), भारतमा अध्ययन गरेका २६ जनामध्ये ११ जना (४२.३१ प्रतिशत), फिलिपिन्समा अध्ययन गरेका ४२ जनामध्ये १२ जना (२८.५७ प्रतिशत) तथा चीनमा अध्ययन गरेका १३३ जनामध्ये २० जना (१५.०४ प्रतिशत) मात्र उत्तीर्ण भएका छन्।

काउन्सिलले सार्वजनिक गरेको नतिजाले नेपालका मेडिकल कलेजहरूको शैक्षिक गुणस्तर सुदृढ बन्दै गएको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट