मोरङ : मोरङको रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट खैरो हेरोइनजस्तो देखिने प्रतिबन्धित लागूऔषधसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय दम्पती र उनीहरूका छोरा रहेका छन् ।
विशेष सूचनाका आधारमा मंगलबार साँझ ७ः५० बजे इलाका प्रहरी कार्यालय रंगेली, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (पीआईटी) मोरङ र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई चेकजाँच गर्ने क्रममा सकुन्तला पासवानले दाहिने हातको मुठ्ठीभित्र कालो प्लास्टिकमा लुकाइछिपाई राखेको अवस्थामा २९ ग्राम ४८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको बिहार प्रान्त, अररिया जिल्ला, थाना बोका मोजदार–२ मुस्लिम टोलका ४५ वर्षीय रघुनाथ पासवान, उनकी ४० वर्षीया श्रीमती सकुन्तला पासवान र १८ वर्षीय छोरा करण पासवान रहेका छन् ।
उनीहरूलाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij