चितवन : एक समय ‘नीलो लहर’को पर्याय बन्यो, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको करिश्मा अझै उस्तै छ कि समयसँगै क्षय हुनेछ ? यो प्रश्न चिया पसलदेखि सामाजिक सञ्जालसम्म घुमिरहेको छ ।अर्थात् चितवन–२ मा तेस्रो पटक भाग्य परीक्षण गर्दै छन्, लामिछानेको । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा यहाँको चुनावी तापक्रम केवल क्षेत्रीय प्रतिस्पर्धामा सीमित छैन कि राष्ट्रिय चासो बनेको छ । यहाँ मञ्चमा दिने चर्को भाषण र भद्दा गाली होइन कि शान्त सामाजिक सक्रियतासँगै पहिचान बनाएकी मीनाकुमारी खरेल चुनावी मैदानमा छिन् । उनलाई नेपाली कांग्रेसले चुनावी मैदानमा उतारेको हो ।
उनको यहाँ लोकप्रियता बढ्दो छ । वर्षौँदेखि सामाजिक क्षेत्रमा उनले लगाएको गुनलाई मतदाताले कसरी लिन्छन् भन्ने परीक्षण पनि हो, यसपालिको चुनाव । लामिछाने अघिल्लो निर्वाचन र उपनिर्वाचनमा अत्यधिक मतान्तरसहित विजयी भए । तर, उनीमाथि देखिने गरी ठोस विकास आयोजना अघि बढाउन नसकेको आरोप भने कायमै छ । उनको राजनीतिक यात्रामा उतार–चढाव निर्वाचित भएदेखि नै थियो । सँगै सहकारी बचत हिनामिना प्रकरण उनी जेल र धरौटी खेलमै उनको समय गयो । उनलाई यसपालि कांग्रेस उमेदवार मीना खरेलले टक्कर दिइरहेकी छन् । किनभने समाजसेवा र महिला–बालबालिका क्षेत्रमा लामो समयदेखि क्रियाशील खरेल चितवनवासीबीच परिचित अनुहार हुन् ।
मीनाको उकालो यात्रा
विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेकी खरेल २०४६ सालको जनआन्दोलनदेखि सक्रिय रहँदै आएकी छन् । वडा सदस्यको अनुभव, असहाय महिला तथा बालबालिकाको उद्धार र पुनःस्थापनामा तीन दशक लामो संलग्नता र गाउँ–गाउँसम्मको प्रत्यक्ष सम्बन्ध गाँसेकी छन् । उनको उमेदवारीमा भावनात्मक र सामाजिक सम्बन्ध गाँसिएको छ ।
उनको घरदैलो अभियानमा महिला समूह, बुद्धिजीवी र नागरिक अगुवाको उल्लेख्य साथ देखिन्छ । मीनाले व्यक्तिगत गाली–आक्षेपभन्दा काम, पारदर्शिता र सामाजिक उत्तरदायित्वलाई मुख्य एजेन्डा बनाएकी छन् । यसले उनलाई परिपक्व र संयमित उमेदवारको छवि दिएको छ ।
मिश्रित भूगोल, मिश्रित मनोविज्ञान
चितवन–२ मा भौगोलिक र सामाजिक हिसाबले विविधता छ । भरतपुर महानगरका सहरी वडा, इच्छाकामना गाउँपालिकाको पहाडी भूभाग र कालिका नगरपालिकाका ग्रामीण क्षेत्र मिलेर बनेको यो निर्वाचन क्षेत्र सहर–गाउँ, मधेस–पहाड सबैको संगम हो । यो क्षेत्रमा एक लाख ३७ हजार १५२ मतदाता छन् । यीमध्ये ६७ हजार ८५७ पुरुष, ६० हजार २९४ महिला र एक जना तेस्रोलिंगी छन् । यो क्षेत्रमा महिला मतदाता निर्णायक देखिन्छन् । स्थानीय तह निर्वाचनमा कांग्रेस, एमाले र माओवादी केन्द्रले आफ्नो प्रभाव देखाएको थियो । तर, प्रतिनिधिसभा चुनावमा रास्वपाले अप्रत्यासित सफलता पाएको थियो । तर यसपालि कांग्रेसको संगठित आधार र मीनाको व्यक्तिगत सञ्जालले प्रतिस्पर्धालाई त्रिकोणात्मकभन्दा पनि प्रत्यक्ष प्रतिस्पर्धामा रूपान्तरण गरेको छ । मीनाको खारिएको परिपक्वता र लामिछानेको जोशको टक्कर पर्दै छ ।
‘क्रेज’को बदलिँदो लय
पहिलो निर्वाचनमा परिवर्तनको प्रतीक बनेका रवि लामिछाने परीक्षणको घडीमा छन् । उनले पार्टीका आमसभामा ‘दुई कार्यकालमा काम गरेर हस्तान्तरण गर्ने’ अभिव्यक्ति दिँदै आएका छन् । तर, उनको यो अभिव्यक्ति मतदाताले कसरी लिन्छन् भन्ने चासो छ ।
चितवनलाई रास्वपाको नीलो क्रान्तिको उद्गमस्थल र आधारभूमि मान्ने लामिछानेले २०७९ सालको निर्वाचनमा ४९ हजार ३०० मत पाए । प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत मात्रै पाएका थिए ।
तेस्रो स्थान हासिल गरेका एमालेका कृष्णभक्त पोख्रेलले १४ हजार ६५२ मत हासिल गरेका थिए । जबकि २०७४ सालको आमचुनावमा एमालेका पोख्रेल ४४ हजार ६७० मत हासिल गरेर प्रतिनिधिसभा सदस्य चुनिएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत पाएका थिए ।
त्यसपछि २०८० सालमा भएको उपनिर्वाचनमा पनि लामिछाने निर्वाचित भए । उपचुनावमा उनले ५४ हजार १७६ मत पाएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत मात्र पाए । त्यसरी अघिल्ला दुई निर्वाचनमा भारी मतान्तरमा सांसद बनेका रवि लामिछाने तेस्रोपटक यस क्षेत्रमा प्रतिस्पर्धा गर्दैछन् ।
चितवन–२ मा यसपटकको प्रतिस्पर्धा केवल दलगत भिडन्त होइन, शैली र स्वभावको पनि टक्कर बनेको छ । खरेल र लामिछानेको ‘क्रेज’को लहर कता मोडिन्छ भन्ने अझै खुलेको छैन । चितवन–२ मा २३ जना चुनावी प्रतिस्पर्धामा छन् । जसमा ६ जना स्वतन्त्र हुन् भने बाँकी दलका । प्रतिस्पर्धीमध्ये सात जना महिला छन् ।
यहाँ एमालेका अस्मिन घिमिरे, नेपाली कम्युनिस्ट पार्टी नेकपाका प्रताप गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगदीश्वर अधिकारी, जनता समाजवादी पार्टी जसपा नेपालका कमानसिंह चौधरी, जनमत पार्टीकी निर्मलाकुमारी ठाकुर, नेपाल मजदुर किसान पार्टीकी शोभा बासुकला, राष्ट्रिय जनमोर्चाकी देवी शर्मा, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रकाशबहादुर पाण्डे उमेदवार छन् ।
त्यस्तै, मंगोल नेसनल अर्गनाइजेनकी ऋषा गोले, नेसनल रिपब्लिक नेपालका शक्तिराज गुरुङ, श्रम संस्कृति पार्टीका मिलन थापा मगर, नेकपा माओवादीकी दर्शनाकुमारी शाही, उज्यालो नेपाल पार्टीका निश्रकुमार पाख्रिन, नागरिक उन्मुक्ति पार्टी नेपालका सुवास महतो र आम जनता पार्टीकी देवीकुमारी मगर प्रतिस्पर्धामा छन् । इन्द्रबहादुर स्याङ्तान, कृष्णप्रसाद चापागाईं, प्रतापसिंह तामाङ, प्रवीण सापकोटा, रवि कुमाल र शंकुप्रसाद जैसी स्वतन्त्र उमेदवारी साथ चुनावी मैदानमा छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij