Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

युनाइटेड टेक्निकल कलेजमा JUME भोल्युम–३ सार्वजनिक, उत्कृष्ट विद्यार्थी र कर्मचारी सम्मानित

युनाइटेड टेक्निकल कलेजमा JUME भोल्युम–३ सार्वजनिक, उत्कृष्ट विद्यार्थी र कर्मचारी सम्मानित


चितवन : भरतपुरस्थित होटल सिराइचुलीमा युनाइटेड टेक्निकल कलेजद्वारा आयोजित JUME भोल्युम–३ जर्नलको औपचारिक उद्घाटन, सम्मान तथा अवार्ड वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सोही अवसरमा खेलकुद सप्ताहका विजेतालाई पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो।

कार्यक्रमका सभापति तथा कलेजका प्राचार्य प्रा.डा. माधव प्रसाद कोइरालाले JUME भोल्युम–३ को उद्घाटन गर्दै कलेज शैक्षिक अनुसन्धान, नवप्रवर्तन र गुणस्तरीय शिक्षामा निरन्तर अग्रसर रहेको बताए। उनले यस्ता गतिविधिले विद्यार्थी र संस्थाको शैक्षिक उचाइ बढाउने विश्वास व्यक्त गरे। कार्यक्रममा विशिष्ट अतिथिहरू वरिष्ठ इन्जिनियर बाबुराम उपाध्याय र डा. कृष्ण प्रसाद पौडेलले विद्यार्थीहरूको शैक्षिक उपलब्धि, अनुशासन र सृजनशीलताको प्रशंसा गर्दै निरन्तर मेहनत र लगनशीलताले नै सफलताको ढोका खोल्ने बताए।

उक्त अवसरमा स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। स्नातकोत्तर (M.Sc.) तहमा ४.० जीपीए हासिल गर्ने नारायण प्रसाद अधिकारी, जीवन श्रेष्ठ र सुबोध अधिकारीलाई विशेष नगद पुरस्कारसहित सम्मान गरिएको थियो। साथै, स्नातक (BE) कार्यक्रमअन्तर्गत उत्कृष्ट नतिजा हासिल गर्ने ४ जना विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।

त्यसैगरी शिक्षक तथा कर्मचारीतर्फ विभागीय प्रमुख ई. निरज बोहरा र लाइब्रेरियन मीरा प्याकुरेललाई कलेजको शैक्षिक सेवामा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको थियो। कलेजद्वारा आयोजित खेलकुद सप्ताह अन्तर्गत विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कार वितरण गरिएको थियो। कार्यक्रमको विशेष आकर्षणका रूपमा विद्यार्थीहरूको सक्रिय सहभागितामा प्रस्तुत गरिएको भव्य सांस्कृतिक कार्यक्रमले समारोहलाई थप उत्साहपूर्ण बनाएको थियो।

कलेज सञ्चालक समितिका अध्यक्ष चुडामणि खनालले विद्यार्थीहरूको उज्ज्वल भविष्यप्रति विश्वास व्यक्त गर्दै कलेजले आगामी दिनहरूमा पनि शैक्षिक, सह–पाठ्यक्रम तथा अनुसन्धान गतिविधिलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। कार्यक्रमबारे जानकारी दिँदै कलेजका कार्यकारी अधिकृत विनोद ढकालले युनाइटेड टेक्निकल कलेजले विद्यार्थीहरूको समग्र विकासलाई केन्द्रमा राखी यस्ता शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरू नियमित रूपमा आयोजना गर्दै आएको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट