Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

डा. स्वर्णिम वाग्लेविरुद्ध दुस्प्रचारको आँधी, विकिपिडियामै छेडछाडपछि प्रहरी गुहारे

डा. स्वर्णिम वाग्लेविरुद्ध दुस्प्रचारको आँधी, विकिपिडियामै छेडछाडपछि प्रहरी गुहारे

काठमाडौं : चुनाव नजिकिँदै जाँदा सूचना प्रविधि र सामाजिक सञ्जाल दुरुपयोग पनि उत्कर्षमा पुग्न थालेको छ । केही उम्मेदवारहरु यसको ठूलै मार खेपिरहेका छन्, जसमध्ये एक हुन् रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले ।

आफ्नो साविक निर्वाचन क्षेत्र तनहुँ १ मा उम्मेदवार बनेका वाग्लेले पटक–पटक एउटै विषयमा स्पष्टीकरण दिइरहनु परेको छ- ‘म हिन्दू हुँ ।’ विकिपिडिया नै सम्पादन गरेर ‘क्रिस्चियन धर्मप्रचारक’ को ट्याग लगाइएपछि उनले खण्डन गर्दै हिँड्नु परेको हो । केही नलागेपछि उनले प्रहरीको साइबर ब्यूरोमा उजुरी नै दिएका छन् । आफूविरुद्ध दुष्प्रचार गर्नेहरुलाई साइबर ऐन बमोजिम कारवाही गर्न उनको माग छ । वाग्लेले भनेका छन्, ‘पूर्णरुपमा झूटा अफवाह फैलाउने व्यक्ति र समूहहरु पित्ता लगाई कसले कहाँबाट कतिजनाको मिलेमतोमा गरे भएको हो सोको अनुसन्धान एवं कारवाही गरी पाउन अनुरोध गर्दछु ।’

वाग्लेविरुद्ध भ्रम फैलाउनेमा एक प्रदेश सांसद समेत संलग्न रहेको पाइएको छ । बाग्मती प्रदेशी राप्रपा सांसद लक्ष्मी घिमिरेले विकिपिडियाको एउटा स्क्रिनसटका साथमा वाग्लेले गेरुवस्त्र लगाएको तस्विर पोस्ट गर्दै लेखेकी थिइन्,‘क्रिस्चियन धर्म मान्नेलाई पनि चुनावको बेला हिन्दु धर्मकै शरणमा पर्नुपर्ने रहेछ । जागौं जनता, सधैँ भ्रममा नपरौँ ।’ उनले सेयर गरेको विकिपिडियाको स्क्रिनसटमा डा. वाग्लेको राष्ट्रियता नेपाल र धर्म क्रिस्चियन लेखिएको छ । अर्का मोहन लामा रुम्बा नाम गरेका व्यक्तिले पनि पटक पटक वाग्लेविरुद्ध भ्रामक पोस्टहरु गरिरहेका छन् । वाग्लेले अनलाइनमार्फत हालेको उजुरीमा घिमिरे र लामालाई नै मुख्यरूपमा पोलेका छन् ।

‘आफूलाई बाग्मती प्रदेश सांसद भनेर चिनाउने लक्ष्मी घिमिरे र अर्का मोहन लामा रुम्बाले प्रेषित गरेका सामग्रीले मेरो प्रतिष्ठामाथि आँच पुर्याउने खराब नियत राखेको पाएको छु,’ उनले भनेका छन् । वाग्लेले स्पष्ट शब्दमा आफू हिन्दू भएको र आफ्नो दल रास्वपा सनातन सभ्यताको जगेर्ना गर्न प्रतिवद्ध रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘मेरो पहिचान, चरित्र, प्रतिष्ठा र राजनीतिक जीवनमा आघात पुर्‍याउन विकिपिडियामा फरक धर्म उल्लेख गराएर व्यापक प्रचार प्रसार गरिएको थाहा हुन आयो । एउटा सरल प्रविधिको दुरुपयोग गर्दै गलत राजनीतिक उद्देश्य लिएर सुनियोजितरुपमा भ्रम फैलाउनेहरु असहिष्णु, अराजनीतिक अधर्मीहरु हुन् भन्ने मेरो बुझाइ छ ।’

वाग्लेविरुद्ध गलत प्रचार गर्न कसले विकिपिडियामा छेडछाड गर्‍यो त ? विकिपिडिया यस्तो अनलाइन प्लेटफर्म हो, जसमा चर्चित व्यक्तिहरुका सूचना र विवरणहरु राखिएको हुन्छ । तर, यसमा उल्लेखित विवरणलाई पूर्णरुपमा आधिकारिक र विश्वसनीय भने मान्न सकिँदैन । यसमा सम्वन्धित व्यक्तिको जानकारी बिनै सूचनाहरु राख्न र संसोधन गर्न सकिन्छ । जोकोहीले एउटा विकिपिडिया अकाउन्ट खोलेर विवरण अद्यावधिक गर्न सक्ने भएकाले दुरुपयोगको सम्भावना अत्यधिक हुन्छ । डा. वाग्लेविरुद्ध यही भइरहेको छ ।

वाग्लेले पछिल्लो दुई दिनमा आफ्नो विकिपिडियाको अंग्रेजी विवरण १३५ पटक अद्यावधिक (संशोधन) गरिएको बताएका छन् । विवरण संसोधन गरेर कतै उनलाई क्रिस्चियन पास्चर त कतै धर्मप्रचारक लेखिएको छ । ४ फेब्रुअरीमा सम्पादन गरेर he is promoting Christianity in Nepal (उनी नेपालमा क्रिस्चियन धर्म प्रवर्द्धन गरिरहेका छन्) समेत लेखिएको थियो । अहिले भने यी विवरणहरु छैनन् ।

यसअघि सामाजिक सञ्जालमा डा. वाग्लेले ‘रास्वपामा हिन्दू धर्म मान्नेहरुलाई स्थान छैन’ भनेर बोलेको भन्दै भ्रामक प्रचारप्रसार गरिएको थियो । त्यसविरुद्ध पनि उनले साइबर ब्यूरो गुहारेका थिए । आफ्नो चुनावी अभियानका क्रममा मतदाताहरुसँग उनले यही विषयमा स्पष्टीकरण दिँदै हिँड्नु परेको छ । केही दिनअघि उनले स्थानीय सन्तहरुसँग अन्तरक्रिया गरेर आफू कट्टर हिन्दूको घरमा जन्मिएको र कहिल्यै यो धर्मबाट अलग नभएको प्रकाश परेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट