चितवन : मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज चितवनमा निर्वाचन आचारसंहिता पालनासम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरूले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै सबै उम्मेदवारले समान रूपमा यसको पालना गर्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले स्वच्छ, निष्पक्ष, तटस्थ, पारदर्शी, मितव्ययी तथा भयरहित निर्वाचन सुनिश्चित गर्न आचारसंहिताको पूर्ण पालना अनिवार्य रहेको बताए। उनले निर्वाचनका क्रममा के–कस्ता गतिविधिले आचारसंहिताको उल्लङ्घन हुन्छ भन्ने विषयमा सहभागीहरूलाई स्पष्ट जानकारी गराएका थिए।
पौडेलले उम्मेदवारहरूले निर्वाचनमा गर्न पाउने खर्चको सीमा लगायतका विषयमा पनि जानकारी दिँदै आचारसंहिता उल्लङ्घन भएमा उम्मेदवारी रद्दका लागि सिफारिससमेत हुन सक्ने भएकाले सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरे। निर्वाचन प्रक्रियामा ठूला–साना दल नहुने भन्दै सबैलाई समान रूपमा आचारसंहिता लागू गरिने उनले स्पष्ट पारे।
त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिता पालना नगरेमा कानुनअनुसार कारबाही हुने चेतावनी दिए। उनले जनप्रतिनिधिहरूले पालना गर्नुपर्ने आचारसंहिताका विषयमा जानकारी गराउँदै सुरक्षा व्यवस्थामा कुनै कन्जुस्याइँ नगरिने र निर्धक्क रूपमा प्रचार–प्रसार गर्न आग्रह गरे।
कार्यक्रमको उद्देश्यबारे निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत बालकृष्ण निरौलाले प्रकाश पारेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij