Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सेकेन्ड ह्यान्ड मोबाइल: अवसर कि चुनौती?

सेकेन्ड ह्यान्ड मोबाइल: अवसर कि चुनौती?

चितवन : आजको डिजिटल युगमा मोबाइल फोन सञ्चारको साधन मात्र होइन, शिक्षा, स्वास्थ्य, व्यापार, बैंकिङ र सरकारी सेवासम्मको पहुँच खोल्ने सशक्त माध्यम बनेको छ।

‘डिजिटल नेपाल’ अवधारणालाई व्यवहारमा उतार्ने यही यात्राको केन्द्रमा नेपालको मोबाइल व्यवसाय क्षेत्र उभिएको छ, जहाँ देशभरका मोबाइल व्यवसायीहरूले संघर्ष, लगनशीलता र समर्पणका साथ राष्ट्रको डिजिटल रूपान्तरणलाई निरन्तर अगाडि बढाइरहेका छन्। मोबाइल व्यवसायको यात्रामा हामीले थुप्रै उतार–चढाव भोगेका छौं। प्रविधिको तीव्र परिवर्तन, बजारको अस्थिरता र नीतिगत अस्पष्टताबीच पनि व्यवसायीहरूले धैर्य, इमानदारी र परिश्रमका साथ आफ्नो पहिचान निर्माण गर्दै आएका छन्।

विशेषतः सेकेन्ड ह्यान्ड मोबाइलको कारोबार आज व्यवसायिक अवसरसँगै विश्वासको परीक्षा बनेको छ। मोबाइल व्यवसायमा लागेपछि मैले बुझेको एउटा कुरा छ—सबै समस्या बजारले बनाएको हुँदैन, धेरै समस्या हामीले स्पष्ट बाटो नपाउँदा आफैंले भोग्नुपरेको हुन्छ। सेकेन्ड ह्यान्ड मोबाइलको विषय आज ठीक त्यही अवस्थामा छ। नेपालमा सेकेन्ड ह्यान्ड मोबाइल कारोबारको कानुनी रूपरेखा हालसम्म स्पष्ट रूपमा परिभाषित भएको छैन।

व्यवहारमा यो कारोबार सञ्चालन भइरहे पनि व्यवसायीहरूले पूर्ण कानुनी सुनिश्चितता पाएका छैनन्। तथापि, तथ्य स्पष्ट छ—ग्राहकको प्राथमिकता र व्यवहारमा महत्वपूर्ण परिवर्तन आएको छ। धेरै उपभोक्ताले नयाँ मोबाइल किन्न सक्षम छैनन्, विशेष गरी उच्च मूल्यका iPhone मोडलहरू। त्यस्तै, राम्रो अवस्था भएका सेकेन्ड ह्यान्ड iPhone किन्न इच्छुक ग्राहकहरूको संख्या निरन्तर वृद्धि हुँदै गएको छ। विद्यार्थी, जागिरे, साना व्यवसायी—सबैले साझा दृष्टिकोण राख्छन्: “नयाँ होइन, राम्रो अवस्थामा चलेको भए पुग्छ।” एकातिर, सेकेन्ड ह्यान्ड मोबाइलले सीमित आम्दानी भएका उपभोक्तालाई डिजिटल संसारसँग जोड्ने पुलको काम गरिरहेको छ।

अर्कोतिर, स्पष्ट नीति र व्यवस्थित संरचनाको अभावमा यही कारोबार व्यवसायीका लागि अनावश्यक जोखिमको कारण बन्दै गएको छ। समस्या सेकेन्ड ह्यान्ड मोबाइल होइन। समस्या हामीसँग त्यसलाई व्यवस्थित गर्ने स्पष्ट बाटो नहुनु हो। मैले आफ्नो अनुभवमा देखेको छु—जहाँ व्यवसायीले ग्राहकको सामान्य विवरण राख्छ, मोबाइलको अवस्था खुलेर बताउँछ, IMEI जाँच गर्छ—त्यहाँ समस्या कम हुन्छ। तर यो व्यक्तिगत प्रयास मात्रै पर्याप्त छैन। यसलाई सामूहिक र संस्थागत बनाउन जरुरी छ।

चितवन मोबाइल व्यवसायी संघको सल्लाहकार र नेपाल मोबाइल व्यवसायी महासंघको केन्द्रीय सदस्यको रूपमा मेरो विश्वास छ—अब हामी गुनासोमा सीमित बस्ने समय सकिएको छ। सेकेन्ड ह्यान्ड मोबाइललाई कसरी बैधानिक बनाउने भन्ने विषयमा हामी आफैं पहल गर्नुपर्छ। यस कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन अब सहकार्य र पहलको आवश्यकता छ। व्यवसायी, सरकार र सम्बन्धित निकायहरूले साझा प्रयास गर्दै स्पष्ट नीति, नियम र सञ्चालन संरचना बनाउनुपर्छ। यसले व्यवसायीलाई कानुनी सुरक्षा दिने मात्र होइन, ग्राहकको विश्वास पनि सुनिश्चित गर्छ।

(बिक्रम कंडेल : केन्द्रीय सदस्य, नेपाल मोबाइल व्यवसायी महासंघ)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट