Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवन–१ मा त्रिकोणात्मक भिडन्त, ढकालविरुद्ध कांग्रेस–एमालेको रणनीतिक चुनौती

चितवन–१ मा त्रिकोणात्मक भिडन्त, ढकालविरुद्ध कांग्रेस–एमालेको रणनीतिक चुनौती

चितवन : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर चितवन निर्वाचन क्षेत्र नम्बर–१ मा राजनीतिक सरगर्मी बढेको छ । निर्वाचन अधिकृतको कार्यालय खैरहनीका अनुसार यस क्षेत्रमा १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

मुख्य प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद हरि ढकाल, नेकपा एमालेका दाबा दोर्जे लामा र नेपाली कांग्रेसका राजेन्द्र प्रसाद बुर्लाकोटीबीच हुने अनुमान गरिएको छ । २०७९ को निर्वाचनमा रास्वपाबाट ढकाल विजयी भएका थिए । यसपटक उनलाई रोक्न एमाले र कांग्रेसले रणनीतिक रूपमा बलिया उम्मेदवार अघि सारेका छन् ।

प्रमुख दलका उम्मेदवारहरूमा कांग्रेसबाट राजेन्द्र बुर्लाकोटी, एमालेबाट दाबा दोर्जे लामा र रास्वपाबाट हरि ढकाल रहेका छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट गणेशबहादुर श्रेष्ठ, राप्रपाबाट बलराम शर्मा खनाल चुनावी मैदानमा उत्रिएका छन् ।

अन्य उम्मेदवारहरूमा जनता समाजवादी पार्टीका अजय ठाकुर हजाम, श्रम संस्कृति पार्टीका अनिल तामाङ, नेपाल मजदुर किसान पार्टीका अर्जुन प्रजा, राष्ट्रिय जनमोर्चाकी सीता देवी क्षेत्री, नेकपाका कृष्णराज पन्त, नेकपा संयुक्तका दुर्गादत्त अर्या, उज्यालो नेपाल पार्टीका धनबहादुर गुरुङ, प्रलोपा पार्टीका विकास कामी, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमलाल चौधरी तथा स्वतन्त्रतर्फ रामेश्वर प्रसाद घिमिरे, सञ्जय रिजाल, सौरव कँडेल र हरि प्रसाद रेग्मी रहेका छन् ।

पाण्डेको विरासत फर्काउने एमालेको प्रयास

चितवन–१ मा लामो समय एमाले नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको राजनीतिक प्रभाव रहँदै आएको थियो । उनले २०७० र २०७४ को निर्वाचनमा यस क्षेत्रबाट जित हात पारेका थिए । तर २०७९ मा रास्वपाका ढकालसँग पराजित भएपछि यसपटक उनी उम्मेदवार सिफारिसमै परेनन् ।

एमालेले सुरुमा जिल्ला अध्यक्ष कमलराज पाठकलाई टिकट दिए पनि अन्तिम समयमा निर्णय फेर्दै बागमती प्रदेशका पूर्वमन्त्री दाबा दोर्जे लामालाई उम्मेदवार बनाएको हो । लामा बागमती प्रदेश सरकारमा करिब ४५ महिना मन्त्री रहेका थिए । उनले सुरु गरेका शीतभण्डार, दूध कारखाना, बधशाला तथा अनुदानसम्बन्धी कार्यक्रमहरू विवादमा परेपछि हालसम्म ती योजना अलपत्र अवस्थामा छन् ।

कांग्रेसका बुर्लाकोटीको तेस्रो प्रयास

रास्वपाका ढकाललाई चुनौती दिन कांग्रेसले पुराना नेता राजेन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ । यो उनको संघीय संसद प्रवेशको तेस्रो प्रयास हो । यसअघि २०७० र २०७४ को निर्वाचनमा उनी एमालेका सुरेन्द्र पाण्डेसँग पराजित भएका थिए ।

दुई पटकको हारपछि यसपटक पार्टी संगठन, सहानुभूति मत र आन्तरिक एकताका आधारमा चुनाव जित्ने रणनीतिमा कांग्रेस देखिएको छ । २०७९ को निर्वाचनमा ढकालले ३४ हजार १८९ मत ल्याएर जित्दा कांग्रेसबाट अर्थविद् विश्व पौडेल उम्मेदवार थिए, जो हाल राष्ट्र बैंकका गभर्नर छन् ।

ढकालका लागि चुनौतीपूर्ण निर्वाचन

पुराना शक्ति मानिने एमाले र कांग्रेसले यसपटक ढकाललाई रोक्न साझा रणनीतिसहित बलिया उम्मेदवार अघि सारेका छन् । तामाङ समुदायको बाहुल्य रहेको क्षेत्रमा एमालेको संगठित मत संकलन गर्ने रणनीतिमा लामा छन् भने कांग्रेस आन्तरिक द्वन्द्व अन्त्य गर्दै नयाँ ढंगले चुनावी मैदानमा उत्रिएको छ ।

२०७९ को निर्वाचनमा यही क्षेत्रमा पर्ने प्रदेशसभा (१) बाट एमालेका जगन्नाथ थपलिया र प्रदेशसभा (२) बाट एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल विजयी भएका थिए ।

यस्तै वैचारिक नेताका रूपमा चिनिएका कृष्णराज पन्त, तथा ‘जेन–जी’ प्रतिनिधित्व गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास रसाइलीको उम्मेदवारीले पनि चुनावी माहोल थप रोचक बनेको छ । रसाइली किसान आन्दोलन र मिटरब्याज पीडितको न्यायका लागि सक्रिय अभियन्ता हुन् ।

मतदाता र मतदान केन्द्र

चितवन–१ मा कूल १ लाख ४९ हजार ६२१ मतदाता रहेका छन् । जसमा पुरुष ७६ हजार ७६१महिला ७५ हजार ८६० छन् । निर्वाचनका लागि ५६ मतदान स्थल१६८ मतदान केन्द्र तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट