चितवन : चितवनमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश केदारनाथ पौडेलले संयुक्त रूपमा आज कार्यालयको उद्घाटन गर्नुभएको हो ।
कार्यालय उद्घाटनपछि बोल्दै मुख्य निर्वाचन अधिकृत पौडेलले प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत पहिलो हुने निर्वाचन पद्धति अनुसार निर्वाचन आयोगद्वारा प्रकाशित कार्यतालिका अनुसार काम अघि बढाइने बताउनुभयो । उहाँका अनुसार आजै जिल्लाका तीनै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी काम सुरु गरिनेछ । निर्वाचन कार्यतालिका अनुसार निर्वाचनसम्बन्धी कार्यक्रमहरू प्रकाशन गर्ने, मतदान स्थल तथा मतदान केन्द्रहरूको नामावली सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी अर्यालले कार्यतालिका अनुसार सुरक्षा व्यवस्थापन लगायत समग्र सुरक्षाको व्यवस्था मिलाउन आफूहरू कटिबद्ध रहेको बताउनुभयो ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा ४ लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । जसमा २ लाख १७ हजार ३१४ जना पुरुष, २ लाख २४ हजार ७६६ जना महिला तथा २ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।
जिल्लामा १६२ वटा मतदान स्थल र ४९४ वटा मतदान केन्द्र रहने निर्वाचन कार्यालय चितवनका प्रमुख भिमशेन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो निर्वाचनको तुलनामा यस वर्ष हुने प्रतिनिधि सभा निर्वाचनमा ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् भने ३४ वटा मतदान केन्द्र थप गरिएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij