Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

बढ्दो मानव–हात्ती द्वन्द्व : २० वर्षमा २७४ जनाको मृत्यु

बढ्दो मानव–हात्ती द्वन्द्व : २० वर्षमा २७४ जनाको मृत्यु

काठमाडौँ : पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि तथा वासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छाडी गाउँ बस्तीमा पस्ने गरेका छन् । यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ ।

हात्ती, बाघ, गैँडा, हिउँ चितुवा, हिमाली कालो भालु, काठे भालु, बाँदरलगायत वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति (मृत्यु तथा घाइते) बालीनाली, घर, गोठको क्षति हुने गरेको छ । यो अवस्थामा मानव–वन्यजन्तु द्वन्द्व एक टड्कारो समस्याका रूपमा बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा मात्र नेपालभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको सङ्ख्या ३९, सामान्य घाइते सङ्ख्या ७२ र सख्त घाइते हुनेको सङ्ख्या एक सय २४, घर गोठको क्षति पाँच सय ३१ रहेको छ। वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सबैभन्दा बढी हात्ती र त्यसपछि बाघको आक्रमणबाट मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

विगत २० वर्षमा मात्रै नेपालमा ११ हजारभन्दा बढी मानव–हात्ती द्वन्द्वका घटना रेकर्ड गरिएका छन् । यी घटनामा दुई सय ७४ जनाको मृत्यु भएको छ भने एक सय ३८ जना घाइते भएका देखिन्छ। विशेष गरी झापालगायत पूर्वी क्षेत्रमा मानव–हात्ती द्वन्द्व ठुलो समस्यामा रूपमा देखिएपछि वन मन्त्रालयले प्राथमिकता दिएर न्यूनीकरणका लागि विभिन्न कार्यक्रमसमेत गर्दै आएको छ।

मङ्गलवार मात्रै वन मन्त्री ऐनबहादुर शाही ठकुरीले झापा पुगेर मानव–हात्ती द्वन्द्व समाधानका लागि छुट्टै कार्यविधि ल्याउने बताए । सुदूर पूर्वी झापाको हात्ती प्रभावित क्षेत्र मेचीनगरमा सरोकारवालाले बुझाएको माग पत्र ग्रहण गर्दै उनले मानव–हात्ती द्वन्द्वबाट उत्पन्न समस्या समाधानका लागि छुट्टै कार्यविधि बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले कानुनी बाधा अड्चन फुकाएर भए पनि स्थानीय प्रभावित समुदायका माग र सुझावलाई कार्यान्वयन गर्ने उल्लेख गरेका थिए ।

सोही कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहित सर्वपक्षीय छलफल गरी मानव–हात्ती द्वन्द्व समाधानका लागि १४ बुँदे साझा निष्कर्षसमेत निकालिएको थियो ।

महामन्त्री शर्माले झापामा हात्ती प्रभावित क्षेत्रका जनप्रतिनिधि र सरोकारवालाबिच पहिलो पटक साझा धारणा बनेको उल्लेख गर्दै मानव र हात्तीबिच सहअस्तित्व कायम गरेर समस्याको समाधान खोज्न सरकारलाई ध्यानाकर्षण गराएका थिए । मन्त्री ठकुरीसहितको टोलीले मेचीनगरको बाहुनडाँगीस्थित भारतबाट हात्ती प्रवेश गर्ने सीमावर्ती क्षेत्र र स्थानीय सामुदायिक वनको निरीक्षणसमेत गरेको थियो।

हात्ती रोक्न ९२ किलोमिटर विद्युतीय तार वार

मानव–हात्ती द्वन्द्वलाई कम गर्न सरकारले केही महत्त्वपूर्ण कदम चालेकोसमेत छ । विभागका अनुसार आर्थिक वर्ष २०७१/७२ देखि हालसम्म झापामा करिब ९२ किलोमिटर विद्युतीय तार वार जडान गरिएको छ ।

यस कार्यमा करिब रू ११ करोड खर्च भएको छ । त्यस्तै मानव–हात्ती सह–अस्तित्व बलियो बनाउने सचेतना कार्यक्रम पनि सञ्चालन गरेको विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले जानकारी दिए ।

मानव–हात्ती द्वन्द्व कम गर्न लगाएको तारबारको उचित मर्मत सुधार गरी हात्तीलाई बस्तीमा पस्नबाट रोक्ने, अति प्रभावित क्षेत्रमा थप विद्युतीय तार वार गर्नुपर्ने, हात्ती धपाउनका लागि आवश्यक पर्ने उचित गाडी, ट्र्याक्टरको व्यवस्था गर्नुपर्ने, समस्याग्रस्त हात्तीको पहिचान गरी र तीनको व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ ।

त्यस्तै हात्ती पर्यटनमा जोड दिने, हात्तीले नखाने चिया, कागती, ल्वाङ, सुपारी, बेसार आदिको खेतीपाती प्रणालीको सुरु गर्ने, पीडितलाई आर्थिक सहुलियत दिनुपर्ने महानिर्देशक डा कँडेलले बताए । विश्वमा दुई प्रजातिका हात्ती पाइन्छन् । एसियाली र अफ्रिकी हात्ती । एसियाली हात्ती नेपाल, भारत, भुटानलगायत १३ राष्ट्रमा पाइन्छन् । र तिनको सङ्ख्या हाल करिब ५० हजारको हाराहारीमा रहेको बताइन्छ ।

विश्व संरक्षण सङ्घले हात्तीलाई सङ्कटापन्न प्रजातिको सूचीमा राखेको छ । नेपालले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत हात्तीलाई अनुसूची–१ मा राखेर यसको संरक्षणमा विशेष ध्यान दिइएको छ ।

चुरे तराई क्षेत्रको करिब १३ हजार वर्ग किलोमिटर क्षेत्र हात्तीको बासस्थानका लागि उपयुक्त मानिन्छ । यद्यपि, विगत ९० वर्षमा करिब २२ प्रतिशत वासस्थान विनाश भएको तथ्यले यो क्षेत्र हात्तीका लागि कम सुरक्षित हुँदै गएको बताइएको छ । मानव र हात्ती दुवैलाई पर्ने क्षतिलाई कम गर्न सरकारले विभिन्न पहलहरू गर्दै आएको छ ।

हात्तीकै विषयमा विद्यावारिधि गर्नुभएका बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा अशोक रामका अनुसार तराईका रुपन्देही र पश्चिमी नवलपरासीबाहेक सबै जिल्लामा हात्ती पाइन्छ । ‘परापूर्व कालदेखि नै हात्तीको ओहोरदोहोर गर्ने हात्ती मार्गमा हाल बस्ती र खेती भएकाले त्यस्ता स्थानमा बेलाबेलामा हात्तीसँग मानिसको द्वन्द्व हुने गर्छ । साथै मानिस र हात्तीले एउटै वासस्थान र आहार प्रयोग गर्ने गरेकाले पनि यो समस्या देखिएको हो’, डा रामले भने । वासस्थान विनाश हुनु र खण्डीकरण हुनु मानव–हात्ती द्वन्द्वको मुख्य कारण बनेको उनको भनाइ छ ।

बढ्दो मानव–हात्ती द्वन्द्व र कतिपय स्थानमा मानव बस्ती सुरक्षाका लागि भनेर राखिएका तारबाट करेन्ट लागेर हात्ती मर्ने गरेका छन्। त्यस्तै वासस्थानको क्षयीकरण र अतिक्रमण, हात्ती मार्गमा मानव बस्ती विस्तार, पूर्वाधार विकास निर्माणका कारण चोरी सिकारी मुख्य चुनौती देखिएका छन्।

जङ्गली हात्ती पाँच सय, निजी हात्ती एक सय ७०

वरिष्ठ संरक्षण अधिकृत डा रामका अनुसार सन् २०२० को गणनाअनुसार नेपालमा जङ्गली रैथाने करिब दुई सय २७, (हाल झापामा पश्चिम बङ्गालबाट आई स्थायी रूपमा बस्न थालेका ५० थप) हात्ती रहेका छन् । यस्तै भारतबाट सिजनमा झापा र आसपास क्षेत्रमा एक सय, बर्दियामा ५०, कैलाली र कञ्चनपुरमा ७० को हाराहारीमा जङ्गली हात्ती आउने र केही समय बसेर जाने गरेको उनले बताए ।

यसबाहेक नेपालमा घरपालुवा एक सय ७० (सरकारी एक सय १० र निजी ६०) को सङ्ख्यामा हात्ती छन् । हात्तीको गर्भावस्था २२ देखि २४ महिनाको हुन्छ । घरपालुवा हात्ती कोसी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका छन् । चितवनमा हात्तीको प्रजनन केन्द्र सफल रूपमा सञ्चालित छ।

द्वन्द्वका कारण हुने मानवीय क्षतिलाई सम्बोधन गर्न सरकारले राहत प्रदान गर्ने व्यवस्था गरेको छ । मानव मृत्यु भएमा पीडित परिवारलाई रु १० लाखसम्म राहत प्रदान गरिन्छ । गम्भीर घाइते भएमा दुई लाख, सामान्य घाइते भएमा २० हजार र अङ्गभङ्ग भएमा रु पाँच लाखको राहत उपलब्ध गराइन्छ।

त्यस्तै, घर गोठ क्षतिका लागि रु २० हजार र अन्नबाली क्षतिका लागि रु १० हजार राहत दिने कानुनी प्रावधान छ । झापामा मात्र विगत पाँच वर्षमा आठ सय ८४ घटना दर्ता भएका छन्, जसमा सरकारले करिब रु चार करोड तीन लाख राहत स्वरूप वितरण गरेको विभागको तथ्याङ्क छ ।

हात्ती जमिनमा पाइने सबैभन्दा ठुलो जनावर हो । हात्तीलाई हिन्दु धर्ममा भगवान्का रूपमा पूजा गर्ने गरिन्छ । विश्वका ५० देशमा हात्ती पाइए पनि दुर्लभ र लोपोन्मुख भएकाले नेपालको कानुनअनुसार हात्ती संरक्षित जनावरमा रहेको छ। सरकारले घरपालुवा हात्ती प्रयोग गरेर जङ्गली हात्ती र अन्य वन्यजन्तुको संरक्षण गर्दै आएको छ भने पर्यटन प्रवर्द्धनमा पनि हात्तीको ठुलो योगदान रहेको छ। रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij