Logo

Nov 27 2026 | २०८३, मंसिर १२गते

पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको खानतलासी

पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको खानतलासी

काठमाडौँ  : पूर्व मुख्यसचिव एकनारायण अर्यालको घरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खानतलासी गरेको छ । काठमाडौँको हेपाली हाइटस्थित उनको घरमा प्रहरीले खानतलासी गरेको हो । अर्यालको घरबाट अनुसन्धानका लागी कोही कागजात नियन्त्रणमा लिइएको सीआईबीका प्रवक्ता (एसएसपी) अनुपम शमशेर जबराले रातोपाटीलाई बताए । 

भारतमा पक्राउ परेका अर्याललाई बिहीबार काठमाडौँ ल्याइएको छ । उनलाई मेडिकल परीक्षण गरेर महाराजगन्ज स्थित ब्युरोको हिरासतमा राखिएको छ । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा गैरकानुनी तरिकाले असुलेको रकम विदेश पठाएको कसुरमा अर्याल विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । 

मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा अर्याल संलग्न देखिएको प्रहरीले दाबी गरेको छ । मङ्सिर २ मा पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव तथा यातायात विभागका महानिर्देशक राजीव पोखरेल सहितका अधिकारीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । 

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा गैरकानुनी तरिकाले असुल गरिएको रकम मलेसिया पठाउन ४ पटक मन्त्रिस्तरीय निर्णय भएको थियो । सो निर्णय हुँदा पूर्व मुख्यसचिव अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव थिए । मेडिकल स्क्रिनिङको नाममा अतिरिक्त स्वास्थ्य परीक्षण गर्न बाध्य बनाएर असुल गरेको १ अर्ब ६९ करोड २ लाख २४ हजार रकम मलेसिया पठाउन पूर्व मुख्य सचिव अर्याल समेतको संलग्नतामा अनुमति दिइएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट