हेटौंडा : अस्पतालको स्वास्थ्य सेवा र बिरामीले भोग्नुपरेका समस्या बुझ्न बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानु जङ्ग लामा) ले रातिको समयमा समेत अस्पताल अनुगमनलाई निरन्तरता दिएका छन् ।
यसैक्रममा मन्त्री तामाङ बिहीबार साँझ ८ः३० बजे हेटौंडा अस्पताल पुगेर आकस्मिक अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले उपचाररत बिरामी तथा बिरामीका आफन्तसँग प्रत्यक्ष भेटघाट गरी उपचार सेवा, स्वास्थ्यकर्मीको उपलब्धता, औषधि तथा अस्पतालबाट प्राप्त सेवाबारे जानकारी लिएको मन्त्री मुख्य राजनीतिक सल्लाहकार राजु भण्डारीले जानकारी दिए ।
बिरामीले उपचारका क्रममा भोग्नुपरेका समस्या र गुनासो सुन्दै मन्त्री तामाङले स्वास्थ्य सेवालाई थप प्रभावकारी, सहज र गुणस्तरीय बनाउन अस्पताल प्रशासनलाई आवश्यक सुधारमा ध्यान दिन आग्रह गरेका छन् ।
यसअघि उनले सिन्धुली अस्पतालको समेत अनुगमन गरी बिरामी र आफन्तका सुझाव तथा गुनासा सुनेका थिए । प्रदेश मातहतका सबै अस्पतालमा पुगेर स्वास्थ्य सेवाको वास्तविक अवस्था बुझ्ने बताउँदै उनले कुनै समस्या भए आफूलाई तत्काल जानकारी गराउन आग्रह गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij