सुर्खेत : आशिष गुरुङको दुई गोलले गण्डकी प्रदेशले दशौँ राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा पहिलोपटक विजयी भएको छ।सुर्खेतको कर्णाली रंगशालामा बिहीबार भएको समूह ‘ए’को खेलमा गण्डकीले सहआयोजक कर्णाली प्रदेशमाथि ५–० को रवाफिलो जित निकाल्यो। तीन टोली रहेको समूह ‘ए’को विजेताले सेमिफाइनलमा स्थान बनाउनेछ। यसै समूहको पुलिसले पनि कर्णालीलाई २–० ले हराएको थियो। अब मंसिर १२ गते पुलिस र कर्णालीबीच खेल हुनेछ।
यही खेलले नै सेमिफाइनलको यात्रा टुङ्गो लाग्नेछ। समान तीन टोली रहेका समूह ‘ए’ र ‘बी’बाट शीर्ष टोली सेमिफाइनलमा पुग्ने प्रावधान छ। तर चार टोली रहेको समूह ‘सी’बाट भने शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। समूह ‘ए’मा लगातार दुई हारसँगै कर्णाली समूहचरणबाट नै बाहिरियो।
गण्डकी र पुलिस दुवैले अन्तिम चारको दाबेदारी दिएका छन्। बिहीबार गण्डकीको जितमा आशिष गुरुङले दुई तथा लक्षु थापा, टेकराज गुरुङ र सुदीप गुरुङले समान एक गोल गरे। गण्डकीले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गरे।
खेलको १६औं मिनेटमा लक्षुको गोलबाट गण्डकीले अग्रता लियो। आशिषले २५औं र ३३औं मिनेटमा गोल गर्दै गण्डकीको अग्रता ३–० मा पुर्याए। ५७औं मिनेटमा सुदीपले गोल गर्दै गण्डकीलाई सहज जिततर्फ अग्रसर गराए। गण्डकीले खेलको इन्जुरी समयमा पाँचौं गोल गर्यो। टेकराजले पाँचौँ गोल गरेका हुन्।
अब मंसिर १२ गते हुने खेलले नै गण्डकीको आगामी यात्रा टुङ्गो लगाउनेछ। बिहीबार भएको समूह ‘बी’को खेलमा सशस्त्र प्रहरी बलको एपिएफले मधेश प्रदेशलाई ३–१ को अन्तरमा हरायो। एपिएफका कप्तान युवराज खड्का, सुमन श्रेष्ठ र दिसन राईले गोल गरे। मधेशका दीपेन्द्र विकले एक गोल फर्काए। दोस्रो खेलमा मधेशको यो पहिलो हार हो।
यसअघि मधेशले सुदूरपश्चिम प्रदेशलाई १–० ले हराएको थियो। अब मंसिर १२ गते एपिएफ र सुदूरपश्चिमले समूहको अन्तिम लिग खेल खेल्नेछ। यही खेलले नै सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लगाउनेछ। अहिलेसम्म तीनै टोलीको समूह विजेताका रूपमा सेमिफाइनलमा पुग्ने सम्भावना छ।
यो खेलमा बराबरी भएको खण्डमा भने एपिएफ सेमिफाइनलमा पुग्नेछ। सुदूरपश्चिमले जितेमा आगामी यात्राका लागि गोलअन्तर निर्णायक हुनेछ। ३०औं मिनेटमा कप्तान युवराजले गोल गर्दै एपिएफलाई अग्रता दिलाए। पहिलो हाफको थप समयमा सुमन श्रेष्ठले एपिएफको अग्रता दोब्बर बनाए। ६७औं मिनेटमा मधेशका गोलकिपर युनिस चौधरीले पेनाल्टी बक्सभन्दा बाहिर हातले बल छोएपछि रातोकार्ड सामना गरे।
यसपछि मधेश १० खेलाडीमा सीमित भयो। एपिएफले त्यसको फाइदा लिँदै दबाब बढायो तर खेलको इन्जुरी समयमा दुवै तर्फबाट समान एक गोल भयो।
मधेशका दीपेन्द्रले थप समयको दोस्रो मिनेटमा खेलमा फर्कने प्रयास गरे तर ९८औं मिनेटमा एपिएफका डिसन राईले गोल फर्काउँदै मधेशको लक्ष्य पूरा हुन दिएनन्। शुक्रबार लुम्बिनी प्रदेश र कोशी प्रदेश तथा बागमती र नेपाली सेनाको त्रिभुवन आर्मीबीच खेल हुनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij