काठमाडौँ : विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको छ ।गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार सम्पन्न समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार २९२ जना नेपाली र १९ विदेशी नियोगबाट यकिन भई आएका ६२३ जना विदेशी गरी कुल ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस गरेको हो ।
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत्युको घोषणा गर्न सक्ने व्यवस्था छ ।
यसअघि स्वदेशी नागरिकका हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा तथा विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूचीमाथि दाबी पेस गर्न प्राधिकरणले दुई चरणमा सातदिने सूचना प्रकाशन गरेको थियो ।
बैठकले ‘सबैका लागि पूर्वसूचना’ राष्ट्रिय मार्गचित्र २०८३/०८७ पनि स्वीकृत गरेको छ । मार्गचित्रले २०८७ सम्ममा नेपालका सबै समुदायलाई प्रकोपसम्बन्धी पूर्वसूचना उपलब्ध गराउने लक्ष्यसहित बहुप्रकोप पूर्वसूचना प्रणालीको प्रभावकारी विस्तार, स्तरोन्नति र सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
त्यसैगरी, बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ एवं कार्ययोजना २०८३/८४–२०९१/९२ र वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना २०८३–२०८७ पनि स्वीकृत गरेको छ ।
बैठकले डडेल्धुराको आलिताल गाउँपालिका–१ का भोका गाउँ र माला गाउँका २४ घरधुरी तथा सोही गाउँपालिकाको वडा नम्बर २ स्थित बलौचा गाउँका २२ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्वीकृति दिएको छ ।
त्यस्तै, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित मुडुङ्गे बस्तीका ४० घरधुरीलाई सोही स्थानीय तहको फुदवाङ र गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित देवल गाउँका ३२ घरधुरीलाई सोही पालिकाको फिलिम गाउँमा स्थानान्तरण गर्न स्वीकृति दिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij