काठमाडौँ : चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले विगतमा भएका सहमतिहरू कार्यान्वयन नभए २६औँ सत्याग्रह शुरु गर्ने चेतावनी दिएका छन् ।
बिहीबार प्रेस विज्ञप्ति जारी गरी डाक्टर केसीले भोलि शुक्रबारसम्म सहमति विपरीतका निर्णय नसच्याए र विगतका सम्झौता कार्यान्वयन नगरे सत्याग्रहमा बस्न बाध्य हुने बताएका हुन्।
विज्ञप्तिमा २४औँ र २५औँ सत्याग्रहका क्रममा चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, समतामूलक पहुँच, जवाफदेहिता, सुशासन र सामाजिक न्यायका मागसहित सरकारसँग सहमति भए पनि सरकारले उल्टै ती सहमति उल्लंघन गरेको उल्लेख छ।
सरकारले जवाफदेहिता र सुशासनसम्बन्धी सहमतिको मर्म विपरीत छानबिन समिति गठन गरेको र गल्ती सच्याउन गरिएको आग्रहलाई समेत बेवास्ता गरेको डा.केसीको आरोप छ। स्वास्थ्य, शिक्षा, जवाफदेहिता र सुशासनको नारासहित निर्वाचित भएको सरकारबाटै यिनै विषयमा भएका सहमतिहरू बारम्बार उल्लंघन हुनु अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण रहेको उनले बताएका छन्।
केसीले सहमतिको पालना गर्नु सरकारको नैतिक तथा राजनीतिक दायित्व भएको स्मरण गराउँदै यथाशीघ्र माग सम्बोधन गर्न ध्यानाकर्षण गरेका छन् ।।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij