काठमाडौं : नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री इन्द्र बानियाँ सार्वजनिक तथा पारिवारिक सम्पर्कमा छैनन् । उनलाई पक्राउ गर्न उच्च अदालतले अनुमति दिएको छ, तर प्रहरीको कुनै पनि युनिटले उनलाई पक्राउ गरेको स्वीकार्दैन ।प्रहरी उच्चस्रोतका अनुसार बानियाँलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले खोजीरहेको छ । यसअघि उनका छोरा दीक्षान्त र भतिज ऋषि बानियाँ कर्जा दुरुपयोगको अभियोगमा पक्राउ परेका थिए । उनीहरू पक्राउ पर्नासाथ कांग्रेस नेता बानियाँ सम्पर्क बाहिर रहे ।छोरा र भतिजालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्रेको थियो । तर, नेता बानियाँको खोजी वा पक्राउबारे जिज्ञासा राख्दा सीआईबीका प्रवक्ता एसएसपी अनुपमसमशेर जबराले केही बताउन चाहेनन् । सीआईबीले पक्राउ गरेका व्यक्ति लुकाउनुपर्ने वा अन्यत्र राख्नुपर्ने कुनै कारण नहुने उनको भनाइ छ ।
बानियाँको पारिवारिकस्रोत भने प्रहरीले काठमाडौंको छैमलेबाट पक्राउ गरेको र भृकुटीमण्डपस्थित नगर प्रहरीको हिरासतमा राखिएको दावी गर्छ । तर, नगर प्रहरीसँग पक्राउ गरिएका व्यक्तिलाई केही समय राख्नेबाहेक आवासीय हिरासत छैन । र, प्रहरीले पनि पक्राउ गरेको भनेको छैन ।नेपाल राष्ट्र बैंकको जाहेरीले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत पक्राउ गर्न उनलाई अदालतले अनुमति दिएको हो । यसअघि उनका छोरा दीक्षान्त कात्तिक १६ गते पक्राउ परेका थिए । दीक्षान्त पक्राउ परेपछि उनलाई भेट्न जाँदा भतिजा ऋषि बानियाँ पनि भोलिपल्ट पक्राउ परेका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले दीक्षान्तलाई रुपन्देहीको भैरहवाबाट पक्राउ गरेको थियो । पूर्व मुख्यमन्त्री बानियाँमाथि विभिन्न ४ वटा बैंकबाट ‘अन्डरग्राउन्ड सिमेन्ट कम्पनी’ को नाममा लिएको ३४ करोड रुपैयाँ कर्जा दुरुपयोग गरेको आरोप लागेको छ । पक्राउ परेका उनका छोरा र भतिजामाथि सोही कसुरमा मुद्दा चलाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij