काठमाडौं : रासिद खानको अर्धशतक सहयोगमा काठमाडौ गोखार्जले चितवन राइनोजलाई १ सय ८१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८० रन बनाएको छ।
३.२ ओभरमा नै २ विकेट गुमाएर दबाबमा आएको काठमाडौका लागि तेस्रो विकेटका लागि विलियम बसिस्टो र रासिद खानले ६२ रनको साझेदारी गरे।
बसिस्टोले २२ बलमा १ छक्का सहयोगमा २७ रन बनाउँदै पेभेलियन फर्के। चौथो विकेटका लागि रासिद र सहानले ५३ रनको साझेदारी गरेपछि काठमाडौ विशाल लक्ष्यतर्फ अघि बढेको थियो।
रासिद खानले सर्वाधिक ५२ रन बनाए । उनले ३० बलमा २ चौका र ४ छक्का प्रहार गरे। सहानले २० बलमा ३ चौका र २ छक्का सहयोगमा ३३ रन बनाउँदा क्याच आउट भए। कप्तान करण केसी ७ बलमा ३ छक्का सहयोगमा २० रन बनाउँदा एलबीडब्लु धरापमा परे।
साहिल पटेलले ८ तथा आदिल आलम ९ रनमा आउट भए। ६ बलको सामना गरेका डेविड वार्नर १ रनमा बोल्ड आउट भए। चितवनका लागि रिजन ढकालले ३ तथा सिकन्दर राजा र कमल ऐरिले समान २ विकेट लिए। डान मुस्लीले एक विकेट आफ्नो नाममा लेखाए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij