Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

काम नगर्ने निर्माण व्यवसायीसँगको ठेक्का तोड्न मन्त्री लम्सालको निर्देशन

काम नगर्ने निर्माण व्यवसायीसँगको ठेक्का तोड्न मन्त्री लम्सालको निर्देशन

काठमाडौँ :  पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशभर वर्षौँदेखि अलपत्र अवस्थामा रहेका (रुग्ण) निर्माण ठेक्काहरू तत्काल तोड्ने घोषणा गरेका छन्। सोमबार पूर्वाधार विकास मन्त्रालयमा मातहतका कार्यालयहरूको कार्यप्रगतिका विषयमा भएको छलफलपछि मन्त्री लम्सालले अलपत्र ठेक्का अन्त्य गरी नयाँ प्रक्रिया अघि बढाउने महत्त्वपूर्ण निर्णय गरेका हुन्।

देशभरबाट नागरिकस्तरमा अलपत्र आयोजनाहरूबारे प्राप्त गुनासो र विवरणलाई गम्भीरतापूर्वक लिँदै मन्त्रालयले यस्तो कदम चालेको हो। मन्त्री लम्सालले सडक विभागअन्तर्गत रहेका रुग्ण ठेक्काहरूमा निर्माण व्यवसायीले काम नगरेको अवस्थामा प्रचलित कानुनबमोजिम खरिद सम्झौता तुरुन्त तोड्न निर्देशन दिएका छन्। यसका लागि विभागले आवधिक रूपमा अनुगमन गरी अद्यावधिक विवरण तयार गर्नेछ।

ठेक्का तोडिएपछि पुनः खरिद प्रक्रियामा जानुपर्ने अवस्थामा नियमानुसार लागत अनुमान तयार गरी बजेट सुनिश्चित गरेर तत्काल नयाँ बोलपत्र (टेन्डर) आह्वान गर्न सकिने गरी तयारी अवस्थामा रहन पनि मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ।


स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न 'रिजिड पेभमेन्ट'

मन्त्रालयले सडक निर्माणको प्रविधिमा पनि महत्त्वपूर्ण नीतिगत परिवर्तनको सङ्केत गरेको छ। ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रयोग र प्रवर्धनसम्बन्धी निर्देशिका, २०८३’ को व्यवस्थाअनुरूप अब कालोपत्रे सडकलाई प्रतिस्थापन गर्दै सिमेन्ट कंक्रिटको सडक निर्माणतर्फ अग्रसर हुने निर्णय मन्त्रालयले गरेको छ। 

यसका लागि सडक विभागलाई डिजाइन परिमार्जनलगायतका आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

यसैगरी, ‘डिजाइन एन्ड बिल्ड’ खरिद प्रक्रिया अपनाई निर्माण गरिने पुलहरूमा निर्माण व्यवसायीहरूले बोलपत्र पेस गर्न नचाहने प्रवृत्ति देखिएको भन्दै मन्त्रालयले त्यसको विद्यमान मापदण्ड संशोधन गर्ने प्रक्रिया अघि बढाउने भएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट