Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

कुलेखानी जलाशयको सतह बढेपछि भीमफेदी–कुलेखानी सडकमा सवारी आवागमन रोक

कुलेखानी जलाशयको सतह बढेपछि भीमफेदी–कुलेखानी सडकमा सवारी आवागमन रोक

हेटौँडा : कुलेखानी जलाशयमा पानीको सतह बढेर बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–देउराली–कुलेखानी सडक खण्डमा १२ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाएको हो । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले तोकिएको अवधिमा सवारी सञ्चालन तथा यात्रा नगर्न आग्रह गरे । बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन रोकिएको प्रशासनले जनाएको छ।

बंगालको खाडीमा बनेको चक्रवात ‘अर्नब’को प्रभावका कारण १२ कात्तिकदेखि मकवानपुरमा लगातार वर्षा भइरहेको छ । वर्षाका कारण कुलेखानी जलाशयको सतह बढेर शनिबार साँझसम्म १ हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको छ। जलाशयको अधिकतम सतह १ हजार ५३० मिटर हो ।जलाधार क्षेत्रमा अप्रत्याशित भारी वर्षा भए जलाशयको सुरक्षा र पानीको सतह सन्तुलन कायम राख्न बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने प्रशासनले जनाएको छ । बाँधका ढोका खोलिए सिस्नेरी खोला तथा बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव अचानक बढ्न सक्ने जोखिम छ।

प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान र सुरक्षित स्थानमा रहन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट