Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

मनाङको तिलिचोमा हिमपातको नयाँ रेकर्ड, २४ घण्टामा ४२ सेन्टिमिटर हिउँ थपियो

मनाङको तिलिचोमा हिमपातको नयाँ रेकर्ड, २४ घण्टामा ४२ सेन्टिमिटर हिउँ थपियो

मनाङ : मनाङस्थित तिलिचो हिम मापन केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा तिलिचो क्षेत्रमा हिउँको गहिराइ उल्लेख्य रूपमा बढेको छ । हिम विज्ञान तथा हिमताल शाखाको स्वचालित हिम मापन केन्द्रको तथ्याङ्कअनुसार कार्तिक १३ गते बिहान ०८ः ४५ देखि कार्तिक १४ गते बिहान ०८ः ४५ सम्मको अवधिमा औसत गहिराइ ०.९८७ मिटर रहेको छ। यस अवधिमा सबैभन्दा बढी घण्टाको औसत गहिराइ शनिबार बिहान ०७ः ०० बजे १.३३ मिटर मापन भएको छ। २४ घण्टामा हिउँको गहिराइ करिब ४२ सेन्टिमिटरले बढेको छ। शनिबार बिहान ०४ ः ०० बजेपछि हिउँको गहिराइ तीव्र रूपमा बढेको पाइएको छ।

तिलिचो क्षेत्रमा हिउँको गहिराइ बढ्नुको अर्थ ठुलो मात्रामा पानी हिउँका रूपमा जम्मा हुनु हो। यो पानी मर्स्याङ्दी नदीको प्रवाहसँग जोडिएको छ । तापक्रम अचानक बढेमा वा हिउँमाथि वर्षा भएमा यो हिउँ छिटो पग्लिन सक्छ, जसले मर्स्याङ्दी र यसका सहायक खोलाहरूको बहाव बढाउन सक्छ।हिउँको गहिराइ छोटो समयमै बढ्दा भिरालो ठाउँमा हिमपहिरोको जोखिम पनि बढेको छ। हिमपहिरोले खोलानाला थुनिएर अस्थायी ताल बन्न सक्ने र त्यो फुटेमा तल्लो क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहन्छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सावधानी अपनाउन आह्वान गरेको छ । तिलिचो ताल तथा मनाङ क्षेत्रमा यात्रा गर्ने पर्यटक र पथप्रदर्शकलाई यात्राअघि आधिकारिक पूर्वानुमान तथा सूचना हेरेर मात्र यात्रा गर्न भनिएको छ। हिमपहिरो जाने भिरालो ठाउँ र खोलाको किनारमा नबस्न आग्रह गरिएको छ। साथै, मर्स्याङ्दी किनारका बासिन्दालाई नदीको बहावमा अस्वाभाविक परिवर्तन देखेमा तुरुन्त स्थानीय प्रशासनलाई खबर गर्न र बाढी पूर्वसूचनाका लागि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको आधिकारिक सूचना निरन्तर हेर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट