मुस्ताङ : दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान आइपुगेका छन् ।
उपल्लो मुस्ताङबाट भने शनिबारसम्म भेडाच्याङ्ग्रा जोमसोम आइपुग्ने बताइएको छ । डोल्पाका व्यापारी शेरबहादुर रोकाया आफ्ना पाँच सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा लिएर शनिबार साँझ जोमसोम आइपुगेका छन् ।
डोल्पाबाट जोमसोम आइपुग्न रोकायाको टोलीलाई एक साताभन्दा बढी समय लागेको छ । विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका रोकायाले यसपटक हिउँ छिचोल्दै जोखिमपूर्ण यात्रा गरेर च्याङ्ग्रा जोमसोम ल्याएको बताएका छन् ।
डोल्पो बुद्ध गाउँपालिकाबाट यही असोज ९ गते जोमसोमतर्फ प्रस्थान गरेको रोकायाको टोली असोज १७ गते साँझ जोमसोम आइपुगेको हो । हाल ती भेडाच्याङ्ग्रा जोमसोमको घरपझोङ गाउँपालिकास्थित सार्वजनिक मैदानमा राखिएको छ ।
डोल्पाबाट मुस्ताङ आउने बाटोमा सेताम्मे हिउँ जमेको थियो । भारी वर्षा र हिमपातका कारण मुस्ताङ–डोल्पा जोड्ने पदमार्गमा यात्रा निकै कठिन बनेको रोकायाले जानकारी दिएका छन् ।
माथिल्लो डोल्पाका डोल्पो बुद्ध, से–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाका किसानबाट च्याङ्ग्रा खरिद गरी जोमसोम ल्याइएको हो । नेपाल–चीन सीमा क्षेत्रमा लाग्ने चोङ्ग्रा मेला बन्द भएकाले यसपटक डोल्पामै च्याङ्ग्रा खरिद गर्नुपरेको रोकायाले बताएका छन् ।
डोल्पाबाट यसपटक करिब आठ हजारभन्दा बढी भेडाच्याङ्ग्रा जोमसोम ल्याउने तयारी भइरहेको छ । सेताम्मे हिउँ, अत्यधिक चिसो र जोखिमपूर्ण बाटो छिचोल्दै व्यापारीहरू च्याङ्ग्रा लिएर जोमसोम आइपुगेका हुन् । गत वर्ष दसैँका बेला व्यापारमा आंशिक घाटा व्यहोरे पनि यसपटक च्याङ्ग्रामा ठूलो लगानी गरिएको छ ।
गत वर्षको तुलनामा यस वर्ष डोल्पाबाट कम सङ्ख्यामा च्याङ्ग्रा जोमसोम झरिरहेका छन् । गत वर्ष ११ हजारभन्दा बढी च्याङ्ग्रा डोल्पाबाट मुस्ताङ ल्याइएको थियो ।
बाढीपहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भएमा च्याङ्ग्रा पोखरा लैजान थप समस्या हुने देखिन्छ । व्यापारी रोकायाले आफ्नो सबै सम्पत्ति च्याङ्ग्रामै लगानी भएको बताए । दसैँका बेला डोल्पा फर्कने बाटो सरकारले समयमै सहज बनाइदिए धेरै राम्रो हुने उनको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij