काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले कोठा खोज्ने नाममा भइरहेको विभेद र जातीय छुवाछूतका घटनाप्रति आपत्ति जनाएकी छन्। मंगलबारको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद विकले कोठा खोज्ने बहानामा भएको छुवाछूतको घटनालाई ‘असाध्यै पीडादायी’ भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्।
जातीय छुवाछूत र विभेदलाई प्रश्रय दिने ‘मामा–भान्जा’ नामक प्राइभेट कम्पनी र कोठा खोज्ने नाममा विभेद गर्ने कार्यमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन उनले माग गरिन्। छुवाछूत गर्ने र विभेदलाई प्रोत्साहन गर्ने संस्थालाई कारबाही नगरिनु र सरकार मौन बस्नु गलत भएको भन्दै उनले प्रश्न उठाइन्।
दीपा नेपालीले माइतीघर मण्डलामा ‘सरकार कोठा खोइ’ भन्दै सुरु गरेको सत्याग्रह १५० दिन पुग्दासमेत सरकारले बेवास्ता गरेको सांसद विकले बताइन्। १५० दिन भइसक्दा पनि सरकार र कानुन अझै निदाएको उल्लेख गर्दै उनले यो व्यवस्था र संविधानको उपहास भएको बताइन्।
जातीय विभेद र छुवाछूतलाई प्रश्रय दिने संस्था र व्यक्तिहरूलाई कानुनी कारबाही गर्न तथा जातीय छुवाछूत कसुर ऐन-२०६८ को प्रभावकारी कार्यान्वयन गर्न उनले माग गरिन्। आवश्यक परे ऐन संशोधन गरेरै भए पनि पीडितलाई न्याय दिलाउन उनले आग्रह गरिन्। बोलेकै भरमा नागरिकलाई गिरफ्तार गर्ने सरकारको प्रवृत्ति गलत भएको भन्दै आफ्नो सरकारसँग गुनासो राख्न पाउने नागरिकको अधिकारको सम्मान गर्न सांसद विकले माग गरेकी छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij