उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले सार्वजनिक खरिद प्रक्रियालाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय बनाउन सञ्चालनमा ल्याइएको विद्युतीय खरिद प्रणाली (ई–जिपी) साइबर सुरक्षा जोखिम देखाउँदै अनिश्चितकालका लागि बन्द गरिएकोप्रति आपत्ति जनाएका छन्।
घिसिङले भदौ, असोज र कात्तिक महिना नयाँ ठेक्का आह्वान तथा बजेट कार्यान्वयनलाई गति दिने महत्वपूर्ण समय भएकाले ई–जिपी प्रणाली बन्द हुँदा संघ, प्रदेश र स्थानीय तहका सयौँ सार्वजनिक खरिद तथा विकास निर्माणका प्रक्रिया प्रभावित हुने बताएका छन्।
उनका अनुसार ई–जिपी बन्द गरेर कागजी प्रक्रियामा फर्किनुपर्दा बोलपत्र आह्वानदेखि खोल्ने, प्रस्ताव मूल्याङ्कन गर्ने र विभिन्न चरणका समयसीमा व्यवस्थापन गर्न कठिनाइ हुनेछन्। यसले मिलेमतो, अस्वस्थ प्रतिस्पर्धा, दबाब, धम्की र गुन्डागर्दीजस्ता पुराना विकृतिले पुनः प्रश्रय पाउने जोखिमसमेत बढाउने उनको भनाइ छ।
घिसिङले लामो समयसम्म प्रणाली अवरुद्ध हुँदा हजारौँ निर्माण व्यवसायी, आपूर्तिकर्ता तथा परामर्शदाता प्रत्यक्ष प्रभावित भइरहेको भन्दै सुरक्षा जोखिमको तत्काल पहिचान, नियन्त्रण र प्राविधिक समाधान गरी ई–जिपी प्रणाली सुरक्षित रूपमा सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।
उनले डिजिटल प्रणालीमा समस्या आउन सक्ने भए पनि त्यसको समाधान प्रणाली नै बन्द गर्नु नभएको उल्लेख गर्दै सार्वजनिक खरिदलाई पुनः कागजी र अपारदर्शी प्रक्रियातर्फ लैजान नहुने बताएका छन्।
ई–जिपी प्रणालीलाई दीर्घकालीन रूपमा साइबर सुरक्षा जोखिमबाट सुरक्षित बनाउन आवश्यक प्राविधिक स्तरोन्नति, सुरक्षा परीक्षण, ब्याकअप तथा आपत्कालीन पुनःसञ्चालन प्रणाली सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij