काठमाडौँ : सेवाग्राहीलाई बिचौलियामुक्त, छिटोछरितो, सरल र प्रभावकारी सेवा प्रवाह गर्न गृह मन्त्रालयले सम्बन्धित सरकारी तथा गैरसरकारी कार्यालयहरूलाई निर्देशन दिएको छ।सहसचिव आनन्द काफ्लेको हस्ताक्षरमा जारी गरिएको पत्रमा मिति २०८२ चैत १८ गते जारी गरिएको परिपत्र तथा २०८३ भदौ २५ गते मुख्य सचिव र गृह सचिवबाट जुम बैठकमार्फत दिइएका निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न भनिएको छ। सचिवस्तरीय निर्णयअनुसार २०८३ भदौ २९ गते उक्त निर्देशन जारी गरिएको हो।
निर्देशनअनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल्ने व्यक्तिहरूमाथि निगरानी बढाई कानूनबमोजिम कारबाही गर्न भनिएको छ।
त्यस्तै, अपाङ्गता भएका व्यक्ति, अशक्त व्यक्ति, गर्भवती महिला, सानो बच्चा भएका महिला, ज्येष्ठ नागरिक तथा टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता दिन निर्देशन दिइएको छ।नागरिक सहायता कक्षमार्फत सेवाग्राहीलाई विभिन्न सेवा निःशुल्क उपलब्ध गराउनसमेत भनिएको छ।
जसअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा प्रयोग हुने सबै प्रकारका निवेदन तथा फारम उपलब्ध गराउने, राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवाका लागि अनलाइन फारम भर्ने, फोटोकपी तथा स्क्यान गर्ने र इमेलमार्फत पत्राचार गरी अभिलेख पठाउने तथा प्राप्त अभिलेख प्रिन्ट गर्ने सेवा रहेका छन्।
जिल्ला प्रशासन कार्यालयमा जस्तै जिल्लास्थित सबै सरकारी तथा गैरसरकारी कार्यालयले पनि आफ्नो सेवा प्रकृतिअनुसार नागरिक सहायता कक्ष स्थापना गरी निःशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सेवाग्राहीलाई आवश्यक सूचना, जानकारी तथा कार्यविधिगत विषयहरू कार्यालयको वेबसाइट, सामाजिक सञ्जाललगायतका उपयुक्त माध्यमबाट नियमित रूपमा सार्वजनिक गर्न पनि भनिएको छ। साथै, कार्यालयका वेबसाइटहरू नियमित रूपमा अद्यावधिक गर्न निर्देशन दिइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij