काठमाडौँ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। नेपाली सेनाका अनुसार आज मात्रै हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट २० जनाको उद्धार गरिएको छ।
सेनाले हालसम्म स्वदेशी ३ हजार ८ सय ९४ र विदेशी २ सय ८३ गरी कुल ४ हजार १७७ जनाको हवाई उद्धार गरेको जनाएको छ।
रसुवागढी जलविद्युत् आयोजनामा आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले टनेलमा खोज तथा उद्धार कार्य जारी राखेको छ। लाङ्टाङ जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहितको टोलीले ड्रोनमार्फत टनेलभित्र खोजी गरे पनि हालसम्म केही फेला परेको छैन।
त्यस्तै, चिलिमे हाइड्रोपावरमा एक्स्काभेटर र लोडर प्रयोग गरी टनेल क्षेत्रमा करिब १०० मिटर भग्नावशेष हटाइएको छ। टनेलभित्र पानी भेटिएपछि पानी हटाउने काम भइरहेको छ भने खोज तथा उद्धार टोलीले डोरीको सहायताले भित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ।
चिलिमे क्षेत्रमा खोला वारपार गर्न तुइनसमेत जडान गरिएको छ। यसबाट स्याफ्रुबेंसीलाई स्थलमार्गबाट धुन्चेसम्म जोड्न सहयोग पुग्ने सेनाले जनाएको छ।
माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ए र त्रिशूली–३ बी जलविद्युत् आयोजनाका विभिन्न क्षेत्रमा पनि नेपाली सेना, आयोजनाका प्रतिनिधि तथा संयुक्त टोलीले खोजी कार्य जारी राखेका छन्। त्रिशूली–३ बी क्षेत्रमा एक्स्काभेटर र ब्याकहो लोडर प्रयोग गरी आवासगृह, कार्यालय भवन तथा टनेल क्षेत्रमा खोजी भइरहेको छ।
रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायत क्षेत्रमा नेपाली सेनाले पैदल गस्तीमार्फत खोजी गरिरहेको छ। स्याफ्रुबेंसी क्षेत्रमा तीन वटा समूहले खोजी कार्य गरिरहेका छन्।
सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा ८ हजार ९ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा सहयोग गरिरहेका छन्।
नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज ३१ जनाले स्वास्थ्य सेवा लिएका छन्। हालसम्म उक्त सेवाबाट ३ हजार ७८४ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
यसैबीच, बाढीका कारण भासिएर अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–३ स्थित शीतल बजारको सडक खुलाउने काम पनि जारी छ। सडकको भित्तातर्फ रहेको कडा चट्टान हटाउन ब्लास्टिङको काम भइरहेको नेपाली सेनाले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij