तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन हुँदै आएको साप्ताहिक हाटबजार १८४औँ हप्ता पुगेको छ। हाटबजार किसानका उत्पादन सहज रूपमा बारीबाट बजारसम्म पुर्याउने माध्यम बनेको छ। २०७९ फागुनदेखि सुरु भएको यो हाटबजार अहिले स्थानीय बासिन्दा, किसान र साना व्यवसायीका लागि महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ।
हरेक शुक्रबार लाग्ने यस हाटबजारमा बिहानैदेखि चहलपहल सुरु हुन्छ। गाउँघरमा उत्पादन भएका तरकारी, फलफूल, अन्नबाली, दाल, अचार, घिउ, मह, घरेलु परिकारदेखि लिएर हस्तकलाका सामग्रीसम्म बिक्रीका लागि ल्याइन्छन्। स्थानीय महिलाले तयार पारेका परम्परागत खाद्य परिकार पनि यहाँ विशेष आकर्षण बन्ने गरेका छन्।
गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार हाटबजारले किसानलाई आफ्नो उत्पादन सिधै उपभोक्तासम्म पुर्याउने अवसर दिएको छ। “स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रभावकारी माध्यम बनेको छ”, उनले भने। बिचौलियाबिना बिक्री हुने भएकाले किसानले उचित मूल्य पाउने र उपभोक्ताले ताजा सामान सस्तोमा पाउने अवस्था बनेको उनको भनाइ छ।
आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीकी किसान सुकमाया चेपाङ पनि नियमित रूपमा हाटबजारमा सामान बेच्न आउँछन्। उनले गाउँमा उत्पादन भएको सागसब्जी, कोदो, मकै, घिउलगायतका सामग्री ल्याएर बिक्री गर्छन्। “पहिले सामान बेच्न बजार टाढा जानुपर्थ्यो, खर्च पनि बढी हुन्थ्यो। अहिले यतै बेच्न पाइन्छ, आम्दानी पनि बढेको छ”, उनले खुसी व्यक्त गरे।
स्थानीय बासिन्दाका अनुसार हाटबजारले केवल व्यापारमात्र होइन, सामाजिक भेटघाटको थलोका रूपमा पनि काम गरिरहेको छ। शुक्रबार आउँदा गाउँभरिका मानिस भेटिन्छन्, कुराकानी हुन्छ, नयाँ जानकारी साटासाट हुन्छ। यसले गाउँमा चहलपहल बढाएको छ।
साढे तीन वर्षको अवधिमै हाटबजार स्थानीय अर्थतन्त्र चलायमान बनाउने आधार बनेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। उनका अनुसार गाउँपालिकाले सुरु गरेको यो पहल अहिले किसान, साना व्यवसायी र उपभोक्ताबीचको प्रत्यक्ष सेतु बनेको छ। “स्थानीय उत्पादनलाई बजार नपाउँदा किसान निरास हुने अवस्था थियो, अहिले भने गाउँमै बिक्री हुने वातावरण बनेको छ”, अध्यक्ष चुमानले भने। हाटबजारले ग्रामीण अर्थतन्त्रमा नगद प्रवाह बढाएको र घरमै उत्पादन गरेर आम्दानी गर्ने संस्कार बलियो बनाएको उनको भनाइ छ।
उनले हाटबजारलाई केवल किनबेच गर्ने स्थानमात्र नभई स्थानीय उत्पादन प्रवर्द्धन, स्वरोजगार सृजना र सामुदायिक जमघटको थलोका रूपमा पनि लिनुपर्ने बताए। किसानको उत्पादनले उचित मूल्य पाउने, उपभोक्ताले ताजा सामान पाउने र गाउँमा आर्थिक गतिविधि बढ्ने भएकाले स्थानीयवासी यसलाई ‘गाउँको सानो बजार, ठूलो सहयोग’ भन्दै प्रशंसा गर्छन्।
हाटबजारमा स्थानीय मह, गोलभेँडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगान लगायतका दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij