Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

बाढीपहिरोका कारण देशका विभिन्न मुख्यराजमार्ग अवरुद्ध

बाढीपहिरोका कारण देशका विभिन्न मुख्यराजमार्ग अवरुद्ध

काठमाडौँ :  बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू बाढी, पहिरो र सडक मर्मतका कारण प्रभावित भएका छन्। सोमबार बिहान ०६:०० बजेसम्म प्राप्त विवरणअनुसार सम्भावित बाढी-पहिरोका कारण केही स्थानमा यातायात पूर्ण रूपमा बन्द छ भने केही स्थानमा एकतर्फी सञ्चालनमा ल्याइएको छ।

काभ्रेस्थित बि.पि. राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी खण्डमा भदौ १६ गतेदेखि अर्को सूचना नभएसम्मका लागि समय तालिका मिलाएर सवारी सञ्चालन गरिएको छ। साँझ १९:०० बजेदेखि बिहान ०५:०० बजेसम्म १० टनसम्मका मालवाहक सवारी साधन सञ्चालन हुनेछन्। बिहान ०४:०० बजेदेखि साँझ १८:०० बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधनहरू सुचारु गरिनेछ।

रसुवा जिल्लाका मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। त्रिशुली मैलुङ स्याफ्रुबेशी सडक खण्डअन्तर्गत उत्तरगया गाउँपालिका-५ खाल्टेमा भदौ ०८ गतेदेखि लामो समयसम्म रहने गरी पूर्ण अवरोध छ। त्यसैगरी भदौ १० गतेदेखि मुख्य राजमार्गका अन्य क्षेत्रमा पनि अर्को सूचना नभएसम्मका लागि पूर्ण अवरोध कायमै छ।


नुवाकोटको टोखा छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका-८ घट्टेखोलामा सम्भावित बाढी-पहिरोका कारण भदौ ०१ गतेदेखि रातको समयमा (राति २२:०० बजेदेखि बिहान ०५:०० बजेसम्म) सवारी सञ्चालनमा रोक लगाइएको छ। पसाङ ल्हामु सडक खण्डको विदुर नगरपालिका-१० सिमटारमा भदौ १० गतेदेखि बाढीका कारण पूर्ण रूपमा बाटो अवरुद्ध छ।

धादिङस्थित पृथ्वीलोकमार्गमा पनि पहिरोका कारण समस्या उत्पन्न भएको छ। बेनिघाट रोराङ गाउँपालिका-०७ कृष्ण भिरमा भदौ १४ गतेदेखि पूर्ण अवरोध रहेको छ। सोही राजमार्गको बेनिघाट रोराङ-१० ज्वाडखोला र शीतलबजारमा भने पहिरो सफा गरी एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको छ।

यस्तै चितवनको नारायणगढ-मुग्लिन राजमार्गअन्तर्गत तुइनखोलामा सडक मर्मत भइरहेकाले गाडीको चाप हेरेर एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।

उता गण्डकी प्रदेशको मनाङस्थित चामे-बेसिशहर सडक खण्डको नासो गाउँपालिका-३ धारापानीमा भदौ २५ गतेदेखि बाटो निर्माण कार्य जारी रहेकाले हाल साना सवारी साधनहरू मात्र सुचारु गराइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट