काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई अहिलेको राजनीतिक अन्योलबाट निकास दिन निषेधको राजनीति त्यागेर राजासहितको राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताएका छन्।
काठमाडौंमा आइतबार आयोजित राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले यस्तो भनेका हुन् । भदौ २३ र २४ को घटनापछि राजनीतिक परिवर्तन भए पनि जनताको अपेक्षाअनुसार मुलुक अघि बढ्न नसकेको दाबी गरे।
उनले अहिले देश ‘अनिश्चितताको अँध्यारो सुरुङ’मा फसेको र राजनीतिक तरलता झन् बढ्दै गएको बताए । ‘भदौ २३–२४ पछि परिवर्तन त भयो भन्ने लाग्न सक्छ। तर, जुन विद्रोह जेका लागि भएको थियो, त्यसअनुसार जनतामा आशा जाग्ने काम भएको छैन,’ लिङ्देनले भने, ‘देश अनिश्चितताको अँध्यारो सुरुङभित्र फसेको छ। राजनीतिक तरलता झन् बढ्दै गएको छ।’ देशले यसअघि १० वर्षे द्वन्द्व र पछिल्लो आन्दोलनको क्षति व्यहोरिसकेको भन्दै उनले अब अर्को द्वन्द्व वा विद्रोह धान्न नसक्ने बताए।
लिङ्देनले सबै राजनीतिक शक्ति र राजाबीच राष्ट्रिय सहमति कायम नभएसम्म मुलुकले स्थायी निकास पाउन नसक्ने दाबी गरे। देशलाई थप द्वन्द्वतर्फ जानबाट रोक्न राजनीतिक दलहरूले निषेधको राजनीति त्यागेर सहमतिको बाटो रोज्नुपर्ने उनको भनाइ छ।
आगामी मंसिरमा हुने राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्रै सीमित नरहने उनले बताए। महाधिवेशनबाट पार्टीको आगामी राजनीतिक मार्गचित्र तय गर्नुका साथै विगतका कमजोरी सच्याउने अवसरका रूपमा उपयोग गर्नुपर्ने उनले बताए।
लिङ्देनले पार्टीलाई आन्तरिक रूपमा थप बलियो, अनुशासित र एकताबद्ध बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गरे। चुनाव जित्ने नाममा पार्टीका सांसद तथा जनप्रतिनिधि अन्य दलको प्रभावमा पर्ने वा पार्टी अनुशासन उल्लंघन गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनले स्पष्ट पारे।
आफू अध्यक्षमा रहे पनि नरहे पनि पार्टी र कार्यकर्ताको शिर झुक्ने कुनै काम नगरेको दाबी गर्दै लिङ्देनले भ्रष्टाचारविरुद्धको आफ्नो अडानबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij