काठमाडौं : जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका एक कैदी नक्कली सुन देखाएर १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ घर भई काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा बस्दै आएका २८ वर्षीय अनिष थापा रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार थापालाई बिहीबार साँझ ६ बजे टोखा नगरपालिका–९ मिलनटोलस्थित एक गेस्ट हाउसबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनले विभिन्न व्यक्तिलाई नक्कली सुन देखाउँदै पटक–पटक गरी १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
नक्कली सुन देखाएर रकम असुल्दै आएका थापा लामो समयदेखि फरार रहेको अवस्थामा पक्राउ परेका हुन्। पक्राउ परेपछि उनीमाथि ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि थापालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। थापा यसअघि जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए। जेनजी आन्दोलनका क्रममा गत वर्ष भदौ २४ गते उनी नख्खु कारागारबाट भागेका थिए। प्रहरीले घटनामा संलग्न अन्य व्यक्ति तथा ठगीमा प्रयोग भएको नक्कली सुनबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij