गण्डकी : भोटेकोशी (त्रिशूली) बाढीमा ज्यान गुमाएका थप पाँच जनाको शव आज पोखरामा व्यवस्थापन गरिएको छ।पहिचान हुन नसकेपछि दुई महिला, दुई पुरुष र एक बालकको शव पोखरा महानगरपालिका १६ स्थित वनक्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
शव परीक्षण तथा पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा ल्याइएका १०२ शवमध्ये यसअघि ७६ शवलाई सोही स्थानमा जमिनमुनि व्यवस्थापन गरिएको थियो। एक्काइस शव पहिचान गरी आफन्तलाई हस्तान्तरण गरिएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीले जमिनमुनि व्यवस्थापन गरिएका शवको ‘डिएनए’ नमूना सङ्कलन गरिएको बताए। आफन्तको ‘डिएनए’सँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्नेगरी व्यवस्थापन गरिएको उहाँको भनाइ छ। अहिलेसम्म पोखरामा २५ जना आफन्तको ‘डिएनए’ नमूना सङ्कलन गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए।
बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि उनीहरूका आफन्तको ‘डिएनए’ नमूना सङ्कलन भइरहेको हो। ‘डिनएन’का लागि निवदेन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमूना सङ्कलन गर्ने कार्य एकीकृत रूपमा जिल्ला प्रहरी कार्यालयबाट भइरहेको छ।
बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij