चितवन : जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सयपत्री फूलखेतीको क्षेत्रफल बढेको छ। गत आर्थिक वर्षमा २१ दशमलव ९२ हेक्टर क्षेत्रफलमा सयपत्री फूलखेती गरिएकामा यस वर्ष ४४ हेक्टरमा खेती गरिएको हो।
चार्डपर्वलाई लक्षित गर्दै हरेक वर्ष सयपत्री फूलको क्षेत्रफल बढ्दै गएको कृषि विकास कार्यालय चितवनकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानले बताए। उनका अनुसार यस वर्ष सयपत्री फूलखेतीका लागि टिनिस–१, थाई टिनिस, टिनिस२, सुमति र कर्मा ५५५ जातका बिरुवा रोपिएका छन्।
गत वर्ष जिल्लामा लगाइएको सयपत्रीखेतीबाट १३१ दशमलव चार मेट्रिकटन फूल उत्पादन भएको थियो। जिल्लाका सातै पालिकामा व्यावसायिक रूपमा चार्डपर्व लक्षित फूलखेती गरिँदै आएको छ। यहाँका पालिकामध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिमा सयपत्री खेती गरिँदै आएको उनले जानकारी दिए।
थोरै जग्गामा राम्रो उत्पादन दिने भएकाले यहाँका कृषकहरु चार्डपर्व लक्षित सयपत्री फूलखेतीमा आकर्षित हुने गरेको उनले जानकारी दिए। पछिल्लो समय सरकारले नेपालमा उत्पादित वस्तुको आयातमा कडाइ गरेसँगै यस खेतीमा आकर्षण बढेको उनको भनाइ छ।
यहाँ हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ। यसलाई रोक्न सक्ने आँकलनसहित यसतर्फ किसानको आकर्षण बढेको हो। उनले भने,‘गत वर्ष सयपत्रीले पाएको मूल्य र अभावलाई देखेर अहिले किसानको आकर्षण बढेको हो।’ नेपालमा उत्पादित सयपत्रीको माग बढ्न थालेको उनको भनाइ छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij