Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई असोज ८ गते सम्बोधन गर्ने भएका छन्। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

महासभाको ‘उच्चस्तरीय सामान्य बहस’ असोज ६ देखि १२ गतेसम्म न्युयोर्कमा सञ्चालन हुनेछ।यसपटकको महासभाको नारा ‘विश्वास पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसंघ’ रहेको छ। महासभामा ८१ मुलुकका राष्ट्रप्रमुख र नेपालसहित ५० मुलुकका सरकार प्रमुखहरू सहभागी हुनेछन्। मन्त्रालयका सचिव अमृतबहादुर राईले वर्तमान सरकारका प्राथमिकतालगायतका विषय अन्ताराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न ८१औँ महासभा महत्त्वपूर्ण अवसर हुने बताए।

त्यस विषयमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले अन्ताराष्ट्रिय सहयोग एवं सद्भावको निरन्तरता र बढोत्तरीका लागि आह्वान गर्न महासभा महत्त्वपूर्ण हुने बताए। सचिव राईले भने‚ ‘यस सन्दर्भमा प्रधानमन्त्रीज्यूबाट महासभामा जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपबाट नेपालले बारम्बार भोग्नुपरेको जनधनको क्षतिबारे विश्वसमुदायको ध्यानाकर्षण गराउने विषय प्रस्तुत हुनेछ।’

नेपालले प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी जंगल, विशाल हिमालय क्षेत्र र बृहत् नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षण र प्रवर्धनमा पुर्‍याउँदै आएको योगदानको बारेमा जानकारी गराउने तयारी गरेको छ।

यसैगरी परराष्ट्रमन्त्री शिशिर खनाल अतिकम विकसित मुलुकहरू, भूपरिवेष्टित विकासोन्मुख मुलुकहरू, असंलग्न मुलुकहरू, जी–७७ र चीनलगायतका मन्त्रिस्तरीय बैठकमा सहभागी हुनेछन्।

प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव राईलगायतका उच्चपदस्थ पदाधिकारी सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट