Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

सुरुङभित्रबाट इको र चिसो हावा आयो, चिलिमे उद्धारमा बढ्यो आशा : कुलमान घिसिङ

सुरुङभित्रबाट इको र चिसो हावा आयो, चिलिमे उद्धारमा बढ्यो आशा : कुलमान घिसिङ

काठमाडौं : रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीको उद्धारमा आशा जगाउने संकेत देखिएको उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बताएका छन्।

चिलिमे जलविद्युत कम्पनीका पूर्वप्रबन्ध–निर्देशकसमेत रहेका घिसिङले सामाजिक सञ्जालमार्फत उद्धार टोलीले भूमिगत विद्युतगृहसम्म पुग्न तीव्र गतिमा काम गरिरहेको र अब करिब १०० मिटर दूरी मात्रै बाँकी रहेको जानकारी दिएका हुन्।घिसिङका अनुसार विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा जम्मा भएको लेदो, बालुवा र ढुंगा हटाउने काम भइरहेको छ। उद्धार टोली लेदो छिचोल्दै निरन्तर अगाडि बढिरहेको उनले बताएका छन्।

सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटरभित्र आवाज पठाउँदा त्यसको इको सुनिनुका साथै सोही स्थानबाट चिसो हावा आइरहेको उनले बताएका छन्। यसले सुरुङभित्र फसेका कर्मचारी सकुशल रहेको हुनसक्ने आशालाई बल पुगेको घिसिङको भनाइ छ।

‘सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटरभित्रबाट आवाज पठाउँदा त्यसको इको सुनिएको छ। त्यहाँबाट चिसो हावा समेत आइरहेकोले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा र अनुमानलाई बल पुगेको छ,’ घिसिङले भनेका छन्।

उनले चिलिमे जलविद्युत कम्पनीको पूर्वप्रबन्ध–निर्देशकका रूपमा विद्युतगृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय तथा सहजीकरण गरिरहेको बताएका छन्।

घिसिङका अनुसार स्याफ्रुवेसीतर्फबाट स्काभेटरमार्फत सुरुङसम्म पुग्ने वैकल्पिक बाटो निर्माणको काम पनि तीव्र रूपमा भइरहेको छ। शुक्रबारसम्म स्काभेटर सुरुङसम्म पुग्ने सम्भावना रहेको र स्काभेटर तथा लोडर पुगेपछि उद्धार कार्य थप तीव्र हुने अपेक्षा गरिएको उनले बताएका छन्।

‘यो अवस्थामा प्रत्येक मिटरको प्रगति र प्रत्येक संकेतले हामी सबैमा नयाँ आशा जगाएको छ,’ घिसिङले भनेका छन्।

उद्धार कार्य सफल हुने विश्वासका साथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमे जलविद्युत कम्पनीका कर्मचारी उच्च मनोबलका साथ अहोरात्र खटिरहेको उनले बताएका छन्।

घिसिङले उद्धारमा खटिएका सबैप्रति आभार व्यक्त गर्दै सुरुङभित्र रहेका सबैलाई सकुशल उद्धार गर्न सकियोस् भन्ने कामनासमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट