काठमाडौं : उद्योगीहरूले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका छन्। पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ढुवानी लागत बढेको भन्दै व्यवसायीले प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ १८ पैसा मूल्य वृद्धि गरेका हुन्।
मूल्य वृद्धिसँगै काठमाडौँ उपत्यकामा एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य २ हजार ६० रुपैयाँबाट बढेर २ हजार १ सय ६५ रुपैयाँ १८ पैसा पुगेको छ। व्यवसायीका अनुसार नयाँ मूल्य आजदेखि नै लागू भएको छ।
यसअघि भदौ १६ गते नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको जनाएको थियो। तर, निगमले ढुवानी दूरीअनुसार थप मूल्य लिन सक्ने व्यवस्था गरेपछि व्यवसायीलाई ग्यासको मूल्य बढाउने बाटो खुलेको हो।
निगमले आफ्नो डिपो तथा कार्यालयबाट १५ किलोमिटर र एलपी ग्यास उद्योगबाट ५० किलोमिटरसम्मको दूरीमा साविककै मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ। उक्त दूरीभन्दा लामो रुटमा ढुवानी गर्दा थप लागतअनुसार मूल्य लिन सक्ने व्यवस्था निगमले गरेको थियो।
गत मंगलबार साँझ जारी निगमको विज्ञप्तिमा एलपी ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्मका लागि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ मूल्य कायम गरिएको उल्लेख छ। यसले ५० किलोमिटरभन्दा टाढाका उपभोक्ताका लागि ढुवानी लागतका आधारमा मूल्य निर्धारण गर्न व्यवसायीलाई अनुमति दिएको देखिन्छ।
यसअघिका निगमका विज्ञप्तिहरूमा भने ५० किलोमिटरभन्दा बढी दूरीमा ढुवानी हुने ग्यासको मूल्य ढुवानी लागतअनुसार निर्धारण गर्न सकिने स्पष्ट व्यवस्था उल्लेख गरिएको थिएन। यही व्यवस्थालाई आधार बनाएर व्यवसायीले ग्यासको मूल्य बढाएका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij