काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवाला निकायबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन्। मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानव सभ्यताकै कलंक भएको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको बताएका हुन्।
‘प्रविधिको सही प्रयोग र सजगता स् मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ राष्ट्रिय दिवस मनाइँदैछ। प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यसमेत परिवर्तन हुँदै गएको उल्लेख गरे।
उनका अनुसार मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र नियन्त्रणका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप नीतिगत र संस्थागत सुधार गर्दै आएको छ। तीनै तहका सरकार तथा सम्बन्धित सरोकारवाला निकायको समन्वयमा विभिन्न पहल भइरहेको उनले बताए।
प्रधानमन्त्री शाहले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई ‘पालेर्मो प्रोटोकल’अनुकूल हुने गरी संशोधन गर्न विधेयक संसद्मा दर्ता गरिएको जानकारी दिए। यसबाट मानव बेचबिखन तथा ओसारपसारका पीडितको मानव अधिकार संरक्षण तथा राज्यहरूबीचको सहयोग र समन्वय थप प्रभावकारी हुने अपेक्षा गरिएको उनले बताए। संघीय संरचनाअनुरूप विद्यमान कानुनी तथा संस्थागत संयन्त्रलाई सुधार गर्ने क्रममा मानव बेचबिखनविरुद्धको नीति जारी गरी कार्यान्वयनमा ल्याइएको पनि प्रधानमन्त्री शाहले बताए।
उनले मानव बेचबिखनविरुद्धको अभियानमा प्रदेश सरकार, स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार र अन्य सरोकारवाला निकायको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
“हाम्रो साझा पहल र संयुक्त प्रयासले मात्र मानव बेचबिखनमुक्त समाज बनाउन सम्भव हुनेछ,” प्रधानमन्त्री शाहले सन्देशमा भनेका छन्। उनले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सरकारको अभियानमा सहयोग, समन्वय र सहकार्य गर्दै आएका सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत निरन्तर साथ र ऐक्यबद्धताका लागि आग्रह गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij