काठमाडौं : रसुवाको भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनालाई १० दिनपछि जीवितै उद्धार गरिएको घटनालाई गृहमन्त्री सुधन गुरुङले आशाको संकेतका रूपमा लिएका छन्।
शुक्रबार सुरुङबाट ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कवीर महर्जनको जीवितै उद्धार गरिएपछि सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखेका छन्, ‘३ए सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार भएको छ, जसले अझै आशाको किरण जीवितै राखेको छ।’
साह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए । भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि उनीहरू आयोजनाको प्राविधिक काममा खटिएकै अवस्थामा सुरुङभित्र फसेका थिए।
गुरुङले उद्धार कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल ९एपीएफ० र सेन्ट्रल कमान्ड सेन्टरका टोलीप्रति आभार व्यक्त गरेका छन्। उनले सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेले उद्धारका लागि गरेको निरन्तर प्रयासको समेत प्रशंसा गरेका छन्।
उनका अनुसार आयोजनाका अन्य सुरुङमा पनि उद्धार टोलीले खोजी तथा उद्धारको काम जारी राखेका छन्। उद्धार गरिएका साह र महर्जनलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ। दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यसअघि शुक्रबार बिहान गृहमन्त्री गुरुङ उद्धारस्थलमै पुगेका थिए। उद्धार कार्यमा उनी स्वयं खटिएको दृश्यसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij