दोलखा : बुधबार भोटेकोसीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै गौरीशंकर गाउँपालिकाका कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिहरूले आर्थिक सहयोग गरेका छन् ।
बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री कार्यालयले स्थापना गरेको विपद् राहत कोषमा रकम जम्मा गर्ने सहमतिअनुसार गाउँपालिकाका कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिहरूबाट व्यक्तिगत रूपमा रु ३ लाख २६ हजार ४ सय संकलन गरिएको हो ।
संकलित रकम गाउँपालिकाका पोषण सहजकर्ता इन्द्र जिरेलको खातामार्फत आजै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको गाउँपालिकाले जनाएको छ ।
विपद्को यस दुःखद् घडीमा आर्थिक सहयोग गर्ने सम्पूर्ण कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिहरूप्रति गाउँपालिकाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ । सहयोग गर्ने व्यक्तिहरू तथा सहयोग रकमको विवरण तपसिलबमोजिम रहेको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाले बाढीमा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै, घाइते तथा बाढीका कारण विभिन्न स्थानमा फसेका नागरिकहरूको यथाशीघ्र उद्धार तथा आवश्यक राहत उपलब्ध होस् भन्ने कामनासमेत गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij