काठमाडौँ : नेपाल आयल निगमले आगामी दशैँ–तिहारलगायतका चाडपर्वमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने जनाएको छ। बुधवार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको पर्याप्त मौज्दात रहेकोले कुनै समस्या नआउने जानकारी दिए।
औसतमा १३ देखि १४ दिनको स्टक कायम गरिएको उनले बताए। उनका अनुसार निगमसँग हाल १ करोड ५० लाख लिटर पेट्रोल, ४ करोड ६० लाख लिटर डिजेल, १७ लाख लिटर मट्टितेल र ७० लाख लिटर हवाई इन्धन मौज्दात छ। पेट्रोलको दैनिक खपत करिब २० लाख लिटर रहेको उनले बताए।
एलपीजी ग्यासमा भने पछिल्लो समय केही दबाव देखिएको उनले जानकारी दिए। उनकाअनुसार नेपालमा हाल ५८ वटा ब्राण्डका एलपीजी सिलिण्डर कारोबारमा छन्।
धेरै ब्राण्ड र फरक–फरक सिलिण्डरका कारण आपूर्ति व्यवस्थापनमा समस्या आउने भएकाले दीर्घकालीन रूपमा ब्रान्ड मर्जरको योजना अघि बढाइएको उनले बताए।
उनका अनुसार नेपालमा एलपीजी आयातका लागि भारतका विभिन्न रिफाइनरी तथा डिपोमा निर्भर रहनुपर्छ। आयातको लागी नेपालसम्म एकतर्फी दूरी करिव १ हजार २०० किलोमिटर रहेको र दुईतर्फी ढुवानी दूरी करिब २ हजार ४०० किलोमिटर पुग्ने साहले बताए।
भारतबाट १ हजार २२५ सिलिण्डर ग्यास बोकेको बुलेट नेपाल आइपुग्न करिब १० दिन लाग्ने उनको भनाइ छ। निगमले आवश्यकताअनुसार अग्रिम रूपमा ठूलो परिमाणमा ग्यास ल्याउने नीतिगत प्रयास गरेको पनि साहले बताए।
तर त्यस क्रममा खाली सिलिण्डरको मौज्दात थुप्रिएपछि अहिले एकैपटक माग बढ्दा आपूर्ति व्यवस्थापनमा दबाब परेको उनको भनाइ छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij