गोरखा : गण्डकी गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’को अध्यक्षतामा गाउँपालिकाको सभाहलमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो।
कार्यक्रममा सहभागी नागरिकबाट उठाइएका प्रश्न, जिज्ञासा तथा सुझावको जवाफ दिँदै गाउँपालिका अध्यक्ष तिमिल्सिना ‘साकार’ले नागरिकका सल्लाह, सुझाव र आलोचनालाई आत्मसाथ गर्दै गाउँपालिकाका कमीकमजोरी सच्याएर समृद्ध गण्डकी गाउँपालिका निर्माणमा निरन्तर लागिरहने प्रतिबद्धता जनाउनुभयो।
उहाँले नागरिकका सल्लाह, सुझाव, जिज्ञासा तथा आलोचनाले गाउँपालिकालाई थप प्रभावकारी रूपमा अघि बढाउन पृष्ठपोषण मिल्ने बताउनुभयो।
गाउँपालिका अध्यक्ष साकारले गण्डकी गाउँपालिकाका नागरिकको आयआर्जनको मुख्य स्रोत कृषि तथा पशुपालन रहेको बताउँदै किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले विभिन्न कृषि तथा पशुजन्य उत्पादनमा अनुदान उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो। उहाँका अनुसार गाउँपालिकाले तरकारीमा प्रतिकेजी २ रुपैयाँ, मासुमा १० रुपैयाँ, कफीमा १५ रुपैयाँ र अण्डामा ५ रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ।
त्यस्तै, गाउँपालिकामा देखिएको बाँदरको समस्या समाधानका लागि विभिन्न प्रयास गरिए पनि अपेक्षित सफलता प्राप्त हुन नसकेको बताउँदै अध्यक्ष साकारले समस्या समाधानका लागि केन्द्र तथा प्रदेश सरकारसँग सहकार्य गरेर आवश्यक काम अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले नागरिकका सल्लाह तथा सुझावले गाउँपालिकाका कमीकमजोरी सुधार गर्दै समृद्ध गाउँपालिका निर्माणका लागि प्रेरणा मिल्ने बताउनुभयो।
सार्वजनिक सुनुवाइमा सहभागी नागरिकबाट उठाइएका प्रश्न तथा जिज्ञासाको गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा विभिन्न शाखाका प्रमुखहरूले जवाफ दिनुभएको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले आर्थिक वर्ष २०८२/०८३ को गाउँपालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
जनप्रतिनिधि,कर्मचारी विभिन्न संघसस्थाका प्रतिनिधि, सञ्चारकर्मी र स्थानीयहरुको उपस्थिति रहेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij