काठमाडौं : चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को शव पाकिस्तानस्थित ब्रड पिकमा करिब ५,७०० मिटर उचाइमा फेला परेको छ।पाकिस्तानको अल्पाइन क्लब (एसीपी)का अनुसार आइतबार उद्धार टोलीले पुर्जाको शव फेला पारेको हो। घटनास्थलमा थप तीन शव पनि देखिएको जनाइएको छ। ती शवहरूको पहिचान भने अझै खुल्न बाँकी रहेको एसीपीले जनाएको छ।
उद्धार टोलीले सबै शवलाई जापानी क्याम्पतर्फ ल्याउने तयारी गरिरहेको छ। केही दिनअघि ब्रड पिकमा आएको हिमपहिरोमा परेपछि निर्मल पुर्जासहितको आरोहण टोली बेपत्ता भएको थियो।
यसअघि शनिबार पुर्जाको अभियान व्यवस्थापन कम्पनी एलिट एक्सपेडले हिमपहिरोमा पुर्जासहित सम्पूर्ण आरोहण टोलीका सदस्यको मृत्यु भएको पुष्टि गरेको थियो।
शनिबार नै उद्धार टोलीले ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, नेपालका पुरबहादुर गुरुङ र ग्यालु शेर्पाको शव बरामद गरेको थियो। साथै अमेरिकी पर्वतारोही सारा म्यालोरी गेसको अवशेष पनि फेला परेको थियो।
एसीपीका महासचिव अयाज शिग्रीका अनुसार ब्रड पिकको कठिन भू–भाग, निरन्तर हिमपहिरोको जोखिम र प्रतिकूल मौसमका कारण उद्धार अभियान चुनौतीपूर्ण बनेको छ। मौसम अनुकूल नभएकाले हेलिकप्टर परिचालन गर्न नसकिएको र पाकिस्तान तथा नेपालका पर्वतारोही सम्मिलित आठ सदस्यीय स्थलगत उद्धार टोलीले उद्धार अभियान जारी राखेको उनले बताएका छन्।
निर्मल पुर्जाको आरोहण टोलीमा उनीसहित १० जना सदस्य थिए। टोलीमा ६ नेपाली तथा पाकिस्तान, ओमान, अमेरिका र चीनका एक–एक जना पर्वतारोही सहभागी रहेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij