Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

चितवनमा एलपी ग्यासको आपूर्ति नियमित : कृत्रिम अभाव नफैलाउन प्रशासनको आग्रह

चितवनमा एलपी ग्यासको आपूर्ति नियमित : कृत्रिम अभाव नफैलाउन प्रशासनको आग्रह

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा एलपी ग्यासको आपूर्ति नियमित रहेको स्पष्ट पार्दै आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ।

शनिबार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले ग्यास उद्योग तथा आधिकारिक विक्रेतासँगको समन्वयपछि चितवनमा विगतझैँ नियमित रूपमा एलपी ग्यास आपूर्ति भइरहेको जनाएको हो। प्रशासनका अनुसार बजारमा देखिएको अभाव मुख्यतः उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्ने प्रवृत्तिका कारण हुन सक्ने देखिएको छ।

प्रशासनले ग्यासको आपूर्ति र वितरणको निरन्तर अनुगमन भइरहेको जानकारी दिँदै कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा वितरणमा अनियमितता गर्ने व्यक्ति तथा व्यवसायीमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

यस्तै, नेपाल आयल निगमसँग चितवनका लागि थप ग्यास कोटा उपलब्ध गराउन अनुरोध गरिएको र आवश्यक परिमाणमा ग्यास उपलब्ध गराइने मौखिक आश्वासन प्राप्त भएको पनि प्रशासनले जनाएको छ।

प्रशासनले एकल महिला, ज्येष्ठ नागरिक, होस्टेलमा बस्ने विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा आश्रममा आश्रित व्यक्तिले नियमित विक्रेताबाट ग्यास प्राप्त गर्न समस्या भएमा जिल्ला प्रशासन कार्यालयको टोल–फ्री नम्बर १६६००५६५२००१ मा सम्पर्क गर्न आग्रह गरेको छ।

यद्यपि प्रशासनले आपूर्ति नियमित रहेको दाबी गरे पनि चितवनका विभिन्न क्षेत्रमा उपभोक्ताले एलपी ग्यास सहज रूपमा नपाएको गुनासो गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij