Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बागमती प्रदेशमा एक वर्षमा १ हजार ९२४ सवारी दुर्घटना, ३४० जनाको मृत्यु

बागमती प्रदेशमा एक वर्षमा १ हजार ९२४ सवारी दुर्घटना, ३४० जनाको मृत्यु

दिउँसो १२ देखि साँझ ६ बजेसम्म बढी दुर्घटना : तीव्र गति दुर्घटनाको प्रमुख कारण

चितवन : बागमती प्रदेश (काठमाडौं उपत्यका बाहेक) मा आर्थिक वर्ष २०८२/८३ मा १ हजार ९२४ वटा सवारी दुर्घटना हुँदा ३४० जनाको मृत्यु भएको छ भने ३ हजार ७६३ जना घाइते भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले बिहीबार सार्वजनिक गरेको वार्षिक दुर्घटना विश्लेषणले सडक दुर्घटना अझै पनि प्रदेशका लागि गम्भीर चुनौती रहेको देखाएको हो।

सार्वजनिक गरिएको तथ्यांकअनुसार सबैभन्दा बढी १ हजार ११४ दुर्घटना राजमार्ग क्षेत्रमा भएका छन्। यस्तै, ग्रामीण सडकमा ५३९ र शहरी क्षेत्रमा २७१ दुर्घटना भएका छन्। समयका आधारमा दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म ७४० दुर्घटना भएको तथ्यांकले देखाएको छ।

प्रहरीका अनुसार तीव्र गति दुर्घटनाको प्रमुख कारण बनेको छ। गत आर्थिक वर्षमा तीव्र गतिका कारण मात्रै १ हजार ४१ दुर्घटना भएका छन्। त्यसपछि चालकको लापरवाही, मादक पदार्थ सेवन, यात्रुको गल्ती, सडकको अवस्था तथा असुरक्षित ओभरटेक दुर्घटनाका प्रमुख कारणका रूपमा रहेका छन्।

दुर्घटनामा संलग्न चालकमध्ये २५ देखि ४० वर्ष उमेर समूहका चालक सबैभन्दा बढी रहेका छन्। यो उमेर समूहका चालकको संख्या १ हजार ४२९ अर्थात् ५४ प्रतिशत रहेको कार्यालयले जनाएको छ। मृत्यु हुनेमध्ये ७५ प्रतिशत पुरुष रहेका छन् भने २५ वर्षभन्दा माथिका व्यक्तिको मृत्यु संख्या सबैभन्दा बढी रहेको तथ्यांकमा उल्लेख छ।

पत्रकार सम्मेलनमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथिको कारबाही विवरण पनि सार्वजनिक गरिएको थियो। आर्थिक वर्ष २०८२/८३ मा ९० हजार ९८३ सवारीसाधनलाई कारबाही गरी ९ करोड ३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको कार्यालय प्रमुख दिलनारायण पाण्डेले जानकारी दिनुभयो।

सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले प्रविधिमा आधारित निगरानी प्रणाली विस्तार गरिरहेको जनाएको छ। डिजिटल ई–चलान, ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (TVRS), स्वचालित नम्बर प्लेट पहिचान (ANPR) क्यामेरा, स्पिड गन, ब्रेथलाइजर, ब्ल्याक स्पट म्यापिङ र चितवनका ६ स्थानमा ट्राफिक लाइट जडानको कामलाई प्राथमिकताका साथ अघि बढाइएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट